काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोवल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताएका छन्।
शुक्रबार काठमाडौँमा ‘ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण विमोचन समारोहमा बोल्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई आधुनिक र समृद्ध राष्ट्रमा रूपान्तरण गर्ने तथा विश्वलाई जोड्ने उद्देश्यले बिआरआईको अवधारणा अघि सारेको उल्लेख गरेका हुन् ।
दाहालले बिआरआईले ग्लोबल साउथका देशहरूलाई आपसमा जोड्ने उद्देश्य राखेको बताए । उनले करिब १४ सय वर्षअघि चिनियाँ बौद्ध भिक्षु ह्वेनसाङले पैदल यात्रा गर्दै विभिन्न भूभागबीच सम्पर्क स्थापित गरेको प्रसंगलाई आजको समयमा सडक सञ्जालमार्फत विश्वका विभिन्न क्षेत्रलाई जोड्ने प्रयाससँग तुलना गरे ।
उनले बिआरआईलगायतका सहकार्यले नेपाल र चीनबिचको सम्बन्धलाई थप सुदृढ बनाउन सक्ने बताए । नेपाल र चीनबिच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक हित, सहकार्य र समृद्धिको दिशामा विभिन्न क्षेत्रमा उपलब्धि हासिल भएको उनको भनाइ छ । दाहालकाअनुसार व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा जनस्तरको सम्बन्धमा नेपाल र चीनबिच उल्लेखनीय प्रगति भएको छ । चीन नेपालका लागि असल छिमेकीसँगै महत्वपूर्ण लगानीकर्ता तथा विकास साझेदारका रूपमा रहेको उनले बताए ।
उनले इतिहास र परम्पराको अध्ययनसँगै वर्तमान समयको सहकार्यले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्