वासिङ्टन । विश्व बैंक समूहले आर्थिक वर्ष २०२६ मा आफ्नो इतिहासकै सबैभन्दा धेरै निजी पुँजी परिचालन गरेको छ। यस अवधिमा समूहले कीर्तिमानी परिमाणमा ग्यारेन्टीसमेत जारी गरेको छ।
विकासशील अर्थतन्त्रमा आफ्नै वित्तीय स्रोत र विशेषज्ञतासँगै थप निजी पुँजी परिचालन गर्ने लक्ष्यअनुसार विश्व बैंक समूहले आर्थिक वर्ष २०२६ मा ११२ अर्ब अमेरिकी डलर निजी पुँजी परिचालन गरेको हो।
पछिल्लो चार वर्षमा विश्व बैंक समूहले परिचालन गरेको निजी पुँजी तीन गुणाभन्दा बढीले बढेको छ। आर्थिक वर्ष २०२२ मा ३५ अर्ब डलर रहेको यस्तो पुँजी आर्थिक वर्ष २०२६ मा ११२ अर्ब डलर पुगेको हो।
विश्व बैंक समूहको आफ्नै वित्तीय स्रोतसमेत जोड्दा आर्थिक वर्ष २०२६ मा विकासशील अर्थतन्त्रमा समूहले उपलब्ध गराएको कुल वित्तीय सहयोग तथा परिचालन २०० अर्ब डलरभन्दा बढी पुगेको छ।
निजी पुँजी परिचालनको वृद्धि विभिन्न आय समूहका मुलुकमा देखिएको छ। न्यून–मध्यम आय भएका मुलुकमा निजी पुँजी परिचालन आर्थिक वर्ष २०२२ को १४ अर्ब डलरबाट बढेर आर्थिक वर्ष २०२६ मा ३७ अर्ब डलर पुगेको छ। यो अवधिमा यस्तो पुँजी परिचालन झन्डै तीन गुणाले बढेको हो।
त्यस्तै, उच्च–मध्यम आय भएका मुलुकमा निजी पुँजी परिचालन १२ अर्ब डलरबाट बढेर ५० अर्ब डलर पुगेको छ। यो चार गुणाभन्दा बढीको वृद्धि हो।
न्यून आय भएका मुलुकमा भने निजी पुँजी परिचालन करिब ३ अर्ब डलरमा कायम रहेको छ। निजी पुँजी आकर्षित गर्न सबैभन्दा चुनौतीपूर्ण मानिने यी अर्थतन्त्रमा परिचालनको स्तर कायम रहनुलाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
अफ्रिकामा पनि निजी पुँजी परिचालन उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०२२ मा करिब ९ अर्ब डलर रहेको निजी पुँजी परिचालन आर्थिक वर्ष २०२६ मा बढेर २२ अर्ब डलर पुगेको छ। यो करिब १५० प्रतिशतको वृद्धि हो।
विश्व बैंक समूहका अनुसार पछिल्ला तीन वर्षमा निजी क्षेत्रसँग अझ प्रभावकारी रूपमा सहकार्य गर्न संस्थागत रूपमा गरिएका विभिन्न परिवर्तनले यस्तो वृद्धि सम्भव भएको हो।
संस्थाले आफ्ना कामलाई छिटो र सरल बनाउने, सार्वजनिक तथा निजी क्षेत्रसँग सम्बन्धित कामलाई थप नजिक ल्याउने र लगानीकर्तालाई उपलब्ध गराइने वित्तीय उपकरण विस्तार गर्ने काम गरेको जनाएको छ।
प्रत्येक मुलुकमा विश्व बैंक समूहका सार्वजनिक तथा निजी क्षेत्रसँग सम्बन्धित कामका लागि एउटै सम्पर्क बिन्दु बनाइएको छ। साथै, सम्बन्धित मुलुकको आवश्यकता तथा विकास प्राथमिकताका आधारमा एकीकृत रणनीति विकास गर्न थालिएको छ।
निजी क्षेत्र लगानीसम्बन्धी ‘प्राइभेट सेक्टर इन्भेस्टमेन्ट ल्याब’ ले पनि यस प्रयासमा सहयोग गरेको विश्व बैंक समूहले जनाएको छ। यसले विकासशील अर्थतन्त्रमा लगानी रोकिरहेका व्यावहारिक अवरोध पहिचान गरी तिनलाई सम्बोधन गर्ने कार्ययोजना विकास गर्न सहयोग गरेको थियो।
विश्व बैंक समूहले व्यवसाय तथा नियामकीय वातावरण सुधार, ग्यारेन्टी तथा स्थानीय मुद्रामा वित्तीय सहयोग विस्तार, विदेशी विनिमयसम्बन्धी चुनौती सम्बोधन, इक्विटीसम्बन्धी वित्तीय उपकरण विस्तार तथा संस्थागत लगानीकर्तालाई ठूलो परिमाणमा सहभागी गराउने नयाँ उपायमा काम गरिरहेको जनाएको छ।
आर्थिक वर्ष २०२६ मा विश्व बैंक समूहले २५ अर्ब डलरभन्दा बढीको ग्यारेन्टी जारी गरेको छ। यो सन् २०३० सम्ममा वार्षिक २० अर्ब डलर ग्यारेन्टी जारी गर्ने लक्ष्यभन्दा चार वर्षअघि नै लक्ष्य पूरा भएको हो।
ग्यारेन्टी परिचालनमा सन् २०२४ मा स्थापना गरिएको ‘विश्व बैंक समूह ग्यारेन्टी प्लेटफर्म’ ले महत्वपूर्ण भूमिका खेलेको छ। उक्त प्लेटफर्मले संस्थाभित्र रहेका विभिन्न ग्यारेन्टी उत्पादनसम्म ग्राहक तथा लगानीकर्ताको पहुँचलाई एउटै र सरल माध्यमबाट उपलब्ध गराउने व्यवस्था गरेको छ।
विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाले तीन वर्षअघि शेयरधनी तथा ग्राहकहरूले विश्व बैंक समूहको वित्तीय स्रोत र ज्ञानको प्रयोग गर्दै थप निजी पुँजी परिचालन गर्न तथा निजी क्षेत्रका लागि अझ राम्रो साझेदार बन्न स्पष्ट आग्रह गरेको बताएका छन्।
“हामीले काम गर्ने तरिका परिवर्तन गर्यौँ । छिटो, सरल र एउटै विश्व बैंक समूहका रूपमा। यसको परिणामस्वरूप यस वर्ष ११२ अर्ब डलर निजी पुँजी परिचालन भएको छ, जुन हामीले सुरुवात गरेको स्तरभन्दा तीन गुणाभन्दा बढी हो,” बङ्गाले भने।
उनका अनुसार परिचालन भएको पुँजी कहाँ र कसरी प्रयोग हुन्छ भन्ने कुरा महत्वपूर्ण छ। “यो पुँजी अवसर र रोजगारी सिर्जना गर्न सक्ने क्षेत्रमा पुग्नुपर्छ। आगामी काम भनेको अवरोधहरू हटाउँदै जाने, लगानीकर्ताको दायरा विस्तार गर्ने र विकासशील अर्थतन्त्रमा थप पुँजी परिचालन गर्ने हो,” उनले भने।
रोजगारी सिर्जना विश्व बैंक समूहको प्रमुख प्राथमिकता रहेको छ। विकासशील अर्थतन्त्रमा आगामी १० देखि १५ वर्षमा एक अर्ब २० करोड युवा काम गर्ने उमेरमा प्रवेश गर्ने अनुमान गरिएको छ। तर, सो अवधिमा करिब ४२ करोड रोजगारी मात्रै सिर्जना हुने प्रक्षेपण छ।
यस्ता अर्थतन्त्रमा सिर्जना हुने १० मध्ये नौ रोजगारी निजी क्षेत्रबाट आउने विश्व बैंक समूहको भनाइ छ।
विश्व बैंक समूहको रोजगारी रणनीति तीन परस्पर जोडिएका आधारमा केन्द्रित छ। पहिलो, मानव तथा भौतिक पूर्वाधारमा लगानी; दोस्रो, व्यवसाय सञ्चालनका लागि अनुकूल नियामकीय वातावरण निर्माण र तेस्रो, निजी क्षेत्रलाई विस्तार गर्न सहयोग गर्नु हो।
यी आधारले ठूलो परिमाणमा लगानी तथा रोजगारी सिर्जना गर्न सक्ने पाँच क्षेत्रमा रणनीति केन्द्रित गरिएको छ। ती क्षेत्रमा पूर्वाधार तथा ऊर्जा, कृषि व्यवसाय, स्वास्थ्य सेवा, पर्यटन र मूल्य अभिवृद्धि गर्ने उत्पादनमूलक उद्योग छन्।
आर्थिक वर्ष २०२६ मा विश्व बैंक समूहको आफ्नै स्रोत र परिचालित पुँजीसहितको कुल वित्तीय सहयोगको ५५ प्रतिशत यी रोजगारी सिर्जना गर्न सक्ने क्षेत्रमा गएको छ। यसले बलियो आधार र सुधारिएको नीतिलाई निजी लगानी, व्यवसाय विस्तार तथा रोजगारीमा रूपान्तरण गर्न सहयोग गरेको विश्व बैंक समूहले जनाएको छ।
निजी लगानी सबैभन्दा सहज पहुँच भएका बजारमा मात्रै सीमित नभएको पनि समूहको भनाइ छ। कम आय भएका अर्थतन्त्रमा समेत निजी लगानी पुगिरहेको छ। त्यहाँ विश्वव्यापी लगानीकर्तासँगै क्षेत्रीय तथा स्थानीय लगानीकर्ताले व्यवसायमा वित्तीय सहयोग र रोजगारी सिर्जनामा थप भूमिका खेलिरहेका छन्।
विश्व बैंक समूहले अब यस उपलब्धिलाई थप विस्तार गर्दै लगानीमा सहभागी हुन सक्ने लगानीकर्ताको दायरा बढाउने तयारी गरेको छ। यसको ‘ओरिजिनेट–टु–डिस्ट्रिब्युट’ (ओटुडी) कार्यक्रममार्फत लगानीलाई प्याकेजिङ गरी संस्थागत लगानीकर्तासम्म ठूलो परिमाणमा पुर्याउने उपाय विकास भइरहेको छ।
यसबाट विश्वभर रहेका दीर्घकालीन पुँजीका स्रोतलाई विकासशील अर्थतन्त्रमा रहेका लगानीका अवसरसँग जोड्ने लक्ष्य राखिएको छ।
विश्व बैंक समूहको लक्ष्य थप स्रोतबाट थप पुँजी परिचालन गर्ने र त्यसको ठूलो हिस्सा रोजगारी तथा आर्थिक अवसर सिर्जना हुने क्षेत्रमा लगानी गर्ने रहेको छ।


प्रतिक्रिया दिनुहोस्