काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार राति स्वदेश फर्किएका छन्।
भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता तथा आर्थिक–व्यावसायिक र प्राज्ञिक कार्यक्रममा सहभागिता जनाएका थिए।
भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा भारत सरकारले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरिएको वाग्लेले जानकारी दिए। बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यका लागि प्रस्ताव गरिएको तथा दुई देशबीचको राजनीतिक, आर्थिक र कूटनीतिक सम्बन्धलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा छलफल भएको उनले बताए।
बिहीबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्दै वाग्लेले नेपाल–भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे छलफल गरेका थिए।
शुक्रबार पूर्वविदेशसचिव श्याम शरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी भएका वाग्लेले सोही दिन भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका थिए। साँझ भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गरेको भेटघाट कार्यक्रममा पनि उनी सहभागी भए।
शुक्रबार नै अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीहरूको प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका थिए।
शनिबार संविधान दिवसका अवसरमा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएका वाग्लेले भारतीय उद्योग परिसङ्घ (सीआईआई)ले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिहरू सम्मिलित सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।
त्यसैगरी शनिबार दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।


प्रतिक्रिया दिनुहोस्