नेपाल लाइफमा अभिकर्ता–व्यवस्थापन द्वन्द्व : तत्काल हस्तक्षेप गर्न माग गर्दै प्राधिकरणलाई पत्र


काठमाडौँ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडभित्र व्यवस्थापन र अभिकर्ताबिच बढ्दै गएको विवाद समाधानका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष तत्काल पहल गर्न आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपाल बीमा प्राधिकरणलाई पठाएको पत्रमा कम्पनी व्यवस्थापनले सङ्घलाई निरन्तर उपेक्षा गरेको, सङ्गठनसँग संवाद गर्न नचाहेको तथा यसले अभिकर्ता र व्यवस्थापनबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको उल्लेख गरिएको छ ।

पत्रमा सङ्घले आफूहरू ट्रेड युनियन ऐनअनुसार विधिवत् दर्ता भएको संस्थाको रूपमा कम्पनीको उन्नति, बीमित हित संरक्षण तथा अभिकर्ताको पेशागत हकहितका विषयमा सहकार्य र समन्वय गर्न पटक–पटक आग्रह गरे पनि व्यवस्थापनले बेवास्ता गर्दै आएको आरोप लगाएको छ ।

सङ्घका अनुसार विवाद गत भदौ ३ गते ‘ लिडरसिप एक्सिलेन्ट अवार्ड–२०२६ कार्यक्रममा थप चर्किएको थियो । उक्त कार्यक्रममा सङ्गठनात्मक पहिचान र सबै अभिकर्ता सङ्गठनलाई समान व्यवहार गर्नुपर्ने माग राख्दा व्यवस्थापनले बाउन्सर, सुरक्षाकर्मी तथा प्रहरी प्रयोग गरी आफ्ना सदस्यमाथि दुव्र्यवहार गरेको दाबी पत्रमा गरिएको छ ।

पत्रमा भनिएको छ, “नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यवस्थापन र हाम्रो सङ्घबिच वार्ता तथा छलफल गराई हामीबीचको द्वन्द्व समाधान हुने वातावरण सिर्जना गर्न तत्काल आवश्यक पहल गरिदिनु हुन अनुरोध गर्दछौँ ।”

सङ्घले हाल कम्पनीले विभिन्न प्रदेशमा सञ्चालन गर्न लागेको अभिकर्ता सम्मान तथा तालिम कार्यक्रमका क्रममा पनि आफूहरूलाई पुनः उपेक्षा गर्ने सङ्केत देखिएको जनाएको छ । एउटा सङ्घलाई प्राथमिकता दिने र अर्को सङ्घलाई बेवास्ता गर्ने प्रवृत्तिले द्वन्द्व झन् गम्भीर बन्न सक्ने चेतावनी समेत पत्रमा दिइएको छ ।

“एउटा सङ्घलाई काँख र अर्को संघलाई पाखा लगाउने तथा बल प्रयोगमार्फत द्वन्द्व सिर्जना हुने अवस्था देखिएकाले नियामक निकायले समयमै हस्तक्षेप गर्न आवश्यक छ,” अध्यक्ष आचार्यले पत्रमा भनेका छन् ।

संघले बढ्दो विवादले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मात्र नभई समग्र बीमा क्षेत्रको छविमा समेत नकारात्मक असर पार्न सक्ने उल्लेख गर्दै प्राधिकरणको सक्रिय मध्यस्थतामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।