काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने वा पदबाट हटाउने विषय प्रतिवेदनमा नरहेको स्पष्ट पारेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव महेश बस्नेतले अध्यक्षको राजीनामा माग्ने, हटाउने वा आलोचना गर्ने विषय प्रतिवेदनमा नरहेको बताएका हुन्।
उनका अनुसार बलथली बैठकपछि विभिन्न मस्यौदा तथा १३ वटा समूहबाट प्राप्त सुझाव समेटेर एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र शंकर पोखरेललाई दिइएको थियो। तीन नेताले तयार पारेको एकीकृत प्रतिवेदनलाई आधार बनाएर कार्यदलले छलफल गरी २९ पृष्ठको साझा प्रतिवेदन तयार गरेको बस्नेतले जानकारी दिए।
कार्यदलले तत्काल विशेष महाधिवेशन वा विशेष विधान महाधिवेशन नबोलाउने सहमति गरेको छ। तर नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको विषय उठ्न सक्ने र त्यसलाई रोक्न नसकिने बस्नेतले बताए।
त्यस्तै, नियमित विधान महाधिवेशनमा ७० वर्षे उमेर हद, दुई कार्यकाललगायत विधानसम्बन्धी विषयमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने उनले बताए।
कार्यदलले पार्टीको एकता सुदृढ गर्न तथा वर्तमान सरकारका गतिविधिविरुद्ध आन्दोलन अघि बढाउने उद्देश्यले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने विषयमा पनि सहमति गरेको बस्नेतले जानकारी दिए।
कार्यदलले १३ वटा समूहबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा समेट्ने भएको छ। साझा प्रतिवेदन आइतबार सचिवालय बैठक र सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने उनले बताए।
बस्नेतका अनुसार कार्यदलले प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। उनले प्रतिवेदनलाई लिएर बाहिर आएका विभिन्न चर्चा तथा सामाजिक सञ्जालमा भइरहेका प्रचारबाट भ्रममा नपर्न आग्रहसमेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्