४ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना


काठमाडौँ । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

दिउँसो देशका हिमाली तथा पहाडी भूभाग, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा साधारणतया बदली रहने जनाएको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।