काठमाडाैँ । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरु अब जीवित भेट्टिने सम्भावना नरहेको बताएका छन् ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले जीवित उद्धार गर्ने सम्भावना कम रहेको बताएका हुन् । यद्यपि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको उनले बताए ।
उनले विशेष गरि जलविद्युत आयोजनाका सुरुङहरुमा उद्धारको कार्यलाई जारी राखेको जानकारी दिए । कतिपय सुरुङमा प्रवेश गर्न भौगोलिक अवस्था, प्रविधिको अभाव तथा कठिन परिस्थितिका कारण लामो समय लागेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भौगोलिक अवस्था कठिन रहेको बताएको उनले जानकारी दिए । सम्भावना रहेसम्म खोज तथा उद्धार जारी राख्ने विषयमा सुरक्षा निकायका प्रमुख तथा विपद् विज्ञहरूसँग छलफल भइरहेको उनको भनाई छ । उनले खोज तथा उद्धारको पछि राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणको काम अगाडी बढाउने बताए ।
उनले बाढीप्रभावित क्षेत्रका महिला तथा बालबालिकाको संरक्षण स्थानीय तहसँग समन्वयमा भईरहेको पनि जानकारी दिए । बालबालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको उनको भनाइ छ ।
उद्धार गरिएका तथा अभिभावकबाट छुटेका बालबालिकाको व्यवस्थापनमा स्थानीय सरकारले गरिरहेको उनले बताए । स्थानीय तहमा कार्यरत गैरसरकारी संस्थाहरूले समेत केही होल्डिङ सेन्टरमा रहेका बालबालिकाको व्यवस्थापनमा सहयोग गरिरहेका छन् । हालसम्म बालबालिकाको अवस्थाबारे गम्भीर विचलन वा थप समस्या नदेखिएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्