कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव तथा अन्तरनिकाय समन्वयको कमी ग्यास अभावको मुख्य कारणः उद्योग मन्त्री


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बजारमा देखिएको एलपी ग्यास अभावको समस्या समाधानका लागि सरकारले आपूर्ति प्रणालीसँग जोडिएका बहुआयामिक कारणको अध्ययन गरिरहेको बताए।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले ग्यास अभावको मूल कारण पहिचान गर्न मन्त्रालयले ‘फिसबोन डायाग्राम’ प्रयोगमा ल्याएको जानकारी दिए।

मन्त्री साहका अनुसार ग्यास अभावमा आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङ क्षमता, डिलर तथा सेवा केन्द्रको असमान वितरण र खाली सिलिन्डर फिर्तामा हुने ढिलाइ प्रमुख कारण देखिएका छन्।

यस्तै, कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव र अन्तरनिकाय समन्वयको कमीले समेत आपूर्ति व्यवस्थापनमा समस्या थपिएको उनले बताए।

सरकारले ग्यास आपूर्ति सहज बनाउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम अघि बढाइरहेको मन्त्री साहको भनाइ छ।