सामाजिक र आर्थिक लोकतन्त्र बिनाको राजनीतिक लोकतन्त्रको भविष्य छैनः उपेन्द्र यादव


काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राजनीतिक परिवर्तनको तुलनामा सामाजिक र आर्थिक रूपान्तरण सुस्त भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सोमबार काठमाडौँमा डा. रेखा यादव ‘निर्झर’ द्वारा लिखित कथासङ्ग्रह ‘प्रश्न’ को लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सामाजिक र आर्थिक लोकतन्त्रको सुनिश्चितता नभएसम्म राजनीतिक उपलब्धिहरूको दिगोपना र सान्दर्भिकता कायम हुन नसक्ने जिकिर गरे ।

देशमा लोकतान्त्रिक शासन व्यवस्था स्थापना भएपनि आम नागरिकको जीवनस्तरमा अपेक्षित सुधार हुन नसक्नु विडम्बनापूर्ण रहेको उनले बताए । उनले राजनीतिक परिवर्तनको लाभ तल्लो तहका नागरिकसम्म पुग्न नसक्नुले व्यवस्थाप्रतिको आकर्षण घट्ने खतरा रहेको उल्लेख गरे । 

उनले भने, “राजनीतिक परिवर्तन भए पनि त्यसअनुसार सामाजिक र आर्थिक जीवनमा अपेक्षित रूपान्तरण हुन सकेको छैन । नेपालमा राजनीतिक लोकतन्त्र स्थापित भए पनि सामाजिक र आर्थिक लोकतन्त्र अझै स्थापित हुन बाँकी छ । सामाजिक–आर्थिक रूपान्तरणबिना राजनीतिक परिवर्तन दिगो र प्रभावकारी हुन सक्दैन । त्यसैले सामाजिक चेतनामा परिवर्तन ल्याउनु आवश्यक छ । यसका लागि लेखक, साहित्यकार, पत्रकार, बुद्धिजीवी, कलाकार, नाटककार तथा कविलगायत सिर्जनशील क्षेत्रले समाजमा जागरण र रूपान्तरणको चेतना फैलाउन महत्वपूर्ण भुमिका खेल्नुपर्छ ।”

अध्यक्ष यादवले समाजमा चेतनाको स्तर उकास्न र परिवर्तनलाई संस्थागत गर्न लेखक, साहित्यकार, पत्रकार, बुद्धिजीवी र कलाकारहरूको भूमिका अग्रणी हुने बताए । कला, साहित्य र विचारका माध्यमबाट समाजलाई जागृत बनाउँदै सुसंस्कृत समाज निर्माणमा लाग्न उनले स्रष्टाहरूलाई आह्वानसमेत गरे ।