राष्ट्रिय बीमा अभिकर्ता सङ्घद्वारा नेपाल लाइफको मधेश प्रदेश कार्यक्रम बहिस्कार,सिइओमाथि कारबाहीको माग


काठमाडौँ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घ,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मधेश प्रदेश समितिले ‘प्रादेशिक तालिम तथा तारा सम्मान’ कार्यक्रम बहिष्कार गरेको छ ।

सङ्घले आज भएकाे कार्यक्रम बहिष्कार गर्दै नेपाल लाइफको गतिविधिबारे बीमा प्राधिकरण क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुखलाई ध्याकर्षण पत्र बुझाएको छ । कम्पनीले सङ्गठनलाई कार्यक्रमका लागि नबोलाएपछि मातहतका सदस्यले कार्यक्रम बहिष्कार गरेका हुन् ।

प्राधिकरणको प्रदेश कार्यालय वीरगञ्जमा कम्पनीले आफ्नो सङ्गठनलाई सहभागि नगराएको भन्दै अभिकर्ताहरूले डेढ घण्टा छलपल गरेका छन् ।

सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अम्बिकाप्रसाद तेलीले कम्पनीमा क्रियाशील सङ्गठनमध्ये कानुनविपरीत एउटालाई मात्रै बोलाएको र आफ्नो सङ्गठनलाई नबोलाएपछि बहिष्कार गरिएको जानकारी दिए । उनले भने,“कानुनअनुसार कम्पनीले कुनै सङ्गठनलाई बोलाउने र कसैलाई नबोलाउने गरि विभेद गर्न पाइदैन । यो कुरा हामीले प्राधिकरणको क्षेत्रीय कार्यालयमा राखेका छौँ ।”

प्राधिकरणको केन्द्रीय कार्यालयले नेपाल लाइफलाई निर्देशन दिए पनि नेपाल लाइफका सिइओ प्रवीण रमण पराजुलीले अटेरी गर्दै आएका छन् ।

विभेद भएको भन्दै सङ्घसँग आवद्ध अभिकर्ताले प्रदेशस्तरमा भएको कार्यक्रम बाहिष्कार गरिरहेका छन् । प्राधिकरणले दुबै सङ्गठनलाई समाधान व्यवहार गर्न निर्देशन दिए पनि कम्पनीले टेरेको छैन ।

वरिष्ठ उपाध्यक्ष तेलीले भने,“निर्देशन नमान्ने सिइओलाई प्राधिकणले किन स्पष्टिकरण सोध्न सकेको छैन ? बाउन्सर र प्रहरीको बिचमा पनि तालिम र सम्मान कार्यक्रम हुन्छ ?” सङ्घसँगको छलफलपछि यो विषय केन्द्रमा समन्वय गर्ने बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले बताएको छ ।

कम्पनी अन्तर्गत पेशागत बीमा अभिकर्ता सङ्घ,नेपाल र नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घ क्रियाशील छन् । नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घमा आवद्ध पदाधिकारी तथा सदस्यले आफूमाथि कम्पनीले विभेद गरेको आरोप लगाउँदै आएका छन् ।

कम्पनीले नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घलाई सम्बोधन नगरेपछि काठमाडौमा गत भदौ ३ र ४ गते भएको कार्यक्रममा प्रर्दशनसमेत गरेका थिए ।

यो विवाद अहिले प्रदेशसम्म पुगेको छ । वरिष्ठ उपाध्यक्ष तेलीले भने,“नेपाल लाइफका सिइओको हर्कतले बीमा व्यवसायमा नकारात्मक प्रभाव परिरहेको छ । बीमा प्राधिकरण के हेरेर बसेको छ ? तत्काल हस्तक्षेप भएन भने बीमा व्यवसायमाथि थप नकारात्मक अवस्था बन्ने छ ।”