काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आजदेखि सेयरकारोबार पूर्णरूपमा पूर्ववत् सञ्चालन हुने भएको छ ।
७२ वटा ब्रोकर कम्पनीको डाटा व्यवस्थापन गर्दै आएको डाटा हब प्रणालीमा देखिएको प्राविधिक समस्या समाधान भएपछि सबै ब्रोकर कम्पनीमार्फत नियमित कारोबार सञ्चालन हुने भएको हो ।
डाटा हबमा समस्या देखिएपछि सोमबार नेप्सेको सम्पूर्ण कारोबार प्रभावित भएको थियो । समस्या समाधान हुन नसकेपछि डाटा हब बाहेक अन्य प्रणाली प्रयोग गर्ने सीमित ब्रोकर कम्पनीमार्फत मात्रै कारोबार सञ्चालन गर्ने विकल्पबारे छलफल भएको थियो। । तर मंगलबार बिहान प्राविधिक समस्या समाधान भएसँगै यस्तो आवश्यकता टरेको छ ।
नेप्सेका अनुसार आइतबारदेखि डाटा हब प्रणालीमा आएको अवरोधका कारण अधिकांश ब्रोकर कम्पनीले लगानीकर्ताको खरिद–बिक्री आदेश प्रणालीमा प्रविष्ट गराउन सकेका थिएनन् । त्यसको प्रत्यक्ष प्रभाव सोमबारको सेयर कारोबारमा परेको थियो भने हजारौं लगानीकर्ता कारोबारबाट वञ्चित भएका थिए ।
समस्या समाधान भएसँगै आजदेखि सबै ७२ ब्रोकर कम्पनीले नियमित रूपमा कारोबार सञ्चालन गर्ने तयारी गरेका छन् ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले घटनालाई गम्भीर रूपमा लिँदै यसको कारण, जिम्मेवारी र सम्भावित कमजोरीबारे विस्तृत छानबिन गर्न निर्देशन दिएको छ । बोर्डले सम्बन्धित पक्षलाई एक साताभित्र घटनाको प्रतिवेदन पेश गर्न समयसीमा समेत तोकेको छ ।
डाटा हबमा देखिएको समस्याले नेपालको पूँजीबजारको डिजिटल पूर्वाधार र साइबर सुरक्षासम्बन्धी तयारीमाथि समेत प्रश्न उठाएको छ ।
छानबिन प्रतिवेदनपछि वास्तविक कारण सार्वजनिक हुने अपेक्षा गरिएको छ भने लगानीकर्ताले पूँजीबजारको सूचना प्रविधि प्रणालीलाई थप भरपर्दो र सुरक्षित बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्