विदेशी लगानीकर्ताको आकर्षणमा कमी आएको छैनः लगानी बोर्ड


काठमाडौं । लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावले नेपालमा विदेशी लगानीकर्ताको आकर्षण रहे पनि स्वीकृत लगानीलाई वास्तविक परियोजना र रोजगारीमा रूपान्तरण गर्न चुनौती रहेको बताएकी छन् ।

मंगलबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले पछिल्लो १४ वर्षमा लगानी बोर्डबाट करिब १।६७ ट्रिलियन रुपैयाँ बराबरको लगानी स्वीकृत भए पनि त्यसको कति हिस्सा वास्तविक परियोजनामा पुगेको छ भन्नेबारे अध्ययन आवश्यक रहेको बताइन्।

उनले लगानी बोर्डलाई परियोजना कार्यान्वयनमा केन्द्रित ‘डेलिभरी युनिट’का रूपमा विकास गर्न प्रयास भइरहेको जानकारी दिइन। पर्यटन, जलविद्युत्, सूचना प्रविधि र रासायनिक मललगायत क्षेत्रमा विदेशी लगानीकर्ताको चासो रहेको उनको भनाइ छ।

स्वीकृति, लाइसेन्स, सरकारी निकायबीचको समन्वय तथा परियोजना कार्यान्वयनका विभिन्न चरणमा देखिने झन्झट हटाउनुपर्नेमा उनले जोड दिइन्। साथै, लगानी बोर्डको संरचना पुनरावलोकन र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्।

उनकाअनुसार हाल पाँच परियोजना अध्ययन तथा मूल्यांकनको चरणमा छन् भने तीन परियोजना सञ्चालनमा छन्।