काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले वर्तमान सरकार ‘स्टन्टबाजी’ र सामाजिक सञ्जालमा रमाउनमै केन्द्रित रहेको बताएका छन् ।
संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताका आधारभुत समस्या समाधान गर्न सरकार पूर्णतः असफल भएको र यसले जनतामा निराशा मात्र नभई भयावह आक्रोश जन्माएको चेतावनी दिएका हुन् ।
सांसद शाहीले देशमा भइरहेका आत्मदाहजस्ता हृदयविदारक घटनाहरूले सरकारको कार्यशैलीमा गम्भीर प्रश्न उठाएको बताए । बजारमा देखिएको ग्यास अभाव र पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौँ उपत्यकाको माग ५० हजार मेट्रिक टन भए पनि आपूर्ति २० हजारभन्दा कम भएको भन्दै उनले सरकारले व्यापारीको टाउकोमा दोष थुपारेर उम्किन नपाइने दाबी गरे । पैसा तिर्दा समेत ग्यास नपाउने अवस्था आउनु राज्य सञ्चालनको असफलता भएको उनको भनाइ छ ।
उनले भने, “युवाहरूले नयाँ विकल्प खोज्दै सत्तामा पु¥याएका शक्तिहरू अहिले समस्या सुल्झाउनुको साटो टिकटक र स्टन्टबाजीमा रमाउँदैछन् । जनताले सरकारसँग ठूलो अपेक्षा गरेका थिए, तर त्यो अपेक्षा छिट्टै निराशामा बदलिएको छ ।”
आफूहरूले सरकारलाई पटक–पटक रचनात्मक सहयोग गर्दै आएको शाहीको दाबी छ । शाहीले सरकारलाई अहङ्कार त्यागेर जनताका जल्दाबल्दा समस्यातर्फ केन्द्रित हुन सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस्