काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू–भागमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएपछि नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न सबैलाई उच्च शतर्कता र सावधानी अपनाउन अपिल गरेको छ ।
बोर्डले विशेषगरी यही असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेकाले आवश्यक परे गतिविधि स्थगित गर्न समेत आग्रह गरेको हो । नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले हाल पर्यटकीय मौसम भएकाले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रमहरू भइरहेको उल्लेख गर्दै सावधानी अपनाउन जोड दिए ।
“अहिले विभिन्न क्षेत्रमा हिमाल आरोहण, पदयात्रा, मेला तथा महोत्सवहरू भइरहेका छन्,” प्रवक्ता शर्माले भने, “भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै यस्ता कार्यक्रम गर्दा उच्च सतर्कता र आवश्यक सावधानी अपनाउन हामी विशेष अपिल गर्दछौँ ।”
जल तथा मौसम विज्ञान विभागकाअनुसार भोलि असोज ७ गते बुधवारदेखि नै कोशी, वागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ ।
आगामी असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी, कोशी, मधेस, वागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
खराब मौसमका कारण बाढी, पहिरो तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचनाहरू निरन्तर पछ्याउन आग्रह गरेको छ ।
प्रवक्ता शर्माले भन्नुभयो, “मौसमसम्बन्धी पछिल्लो जानकारीका लागि पर्यटन बोर्ड र मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा सामाजिक सञ्जाल नियमित हेर्नुहुन अनुरोध गर्दछौँ । जोखिमयुक्त मौसममा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छ ।”
पर्यटन बोर्डले कुनैपनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित पर्यटन व्यवसायीहरूसँग समन्वय गरी यात्राको तालिका तय गर्न पदयात्री तथा पर्वतारोहीहरूलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्