पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध, खुलाउन दुई घण्टा लाग्ने


चितवन । अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी खोलास्थित पुलमाथि पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान ७ः५५ बजेको अद्यावधिक विवरणअनुसार नाम्सी खोला पुलमाथिबाट पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

पहिरो हटाउन करिब दुई घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ। पहिरो पन्छाउने काम सुरु गरिए पनि वर्षा भइरहेकाले सडक खुलाउन थप समय लाग्न सक्ने जनाइएको छ।

सडक अवरुद्ध भएपछि मुग्लिन–नारायणगढ सडकखण्ड भएर यात्रा गर्ने सवारीसाधन प्रभावित भएका छन्।

वर्षाका कारण यस सडकखण्डमा थप पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।