नारायणी नदीमा बाढीको भीषण रूपः खतराको तह नाघेर ११ मिटर माथि, गोब्रेनी बस्ती जलमग्न हुँदै


काठमाडाैँ । लगातारको भारी वर्षाका कारण नारायणी नदीमा जलसतह खतराको तहभन्दा निकै माथि पुगेको छ । बिहान ८ः५६ बजे लिइएको मापनअनुसार नदीको बहाव ११.०६ मिटर पुगेपछि भरतपुर महानगरपालिका–१७ स्थित गोब्रेनी बस्तीमा बाढी पस्न थालेको हो ।

बस्ती जोखिममा परेपछि स्थानीय बासिन्दाहरू सुरक्षित स्थानतर्फ सरिरहेका छन् । चितवन तथा आसपासका जलाधार क्षेत्रमा परेको अविरल वर्षाका कारण नारायणी नदीमा बाढीको सतह तिब्र गतिमा बढिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाकाअनुसार नारायणी नदीमा सामान्यतया ९ मिटरलाई खतराको तह मानिन्छ । तर आज बिहानको मापनमै जलसतहले ११.०६ मिटरको आँकडा पार गरिसकेको छ, जुन सामान्य विन्दुभन्दा निकै माथि हो ।

पानीको सतहले खतराको तह नाघेसँगै भरतपुर महानगरपालिका–१७ गोब्रेनीस्थित तटीय बस्तीमा नारायणीको बाढी पस्न शुरु भएको छ । बाढी बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् भने उनीहरू सुरक्षित स्थानतर्फ सरिरहेका छन् ।

घरभित्र पानी पस्न थालेपछि मानिसहरू धमाधम आफ्ना खाद्यान्न, लत्ताकपडा र महत्वपूर्ण घरायसी सामान उच्च स्थान तथा नजिकका सुरक्षित आश्रयस्थलतर्फ सार्न व्यस्त छन् ।

स्थानीय प्रशासन, सुरक्षा निकाय र विपद् व्यवस्थापन टोलीले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च शतर्कता अपनाउन आग्रह गरेको छ । बाढी अझै बढ्नसक्ने जोखिम रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान र नदी किनारमा नजान अनुरोध गरिएको छ ।

उद्धार टोलीहरूलाई तयारी अवस्थामा राखिएको स्थानीय प्रशासनले जनाएको छ । नारायणी नदीको जलसतह निरन्तर उकालो लागिरहेकाले तल्लो तटीय क्षेत्र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) का नदी तटीय बस्तीहरूमा समेत उच्च जोखिम सिर्जना भएको छ ।

जलसतहको वास्तविक समयको अपडेट लिँदै स्थानीय तहमार्फत सूचना प्रवाहलाई तिब्र बनाइएको छ ।