काठमाडौँ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका कोदारी (तातोपानी)लाई थप सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण तथा संयुक्त अनुगमन गरेको छ।
परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीले चिनियाँ पक्षसँग छलफल गर्दै सीमा क्षेत्रमा देखिएका समस्या तथा नाकासम्म पुग्ने सडकको अवस्थाबारे ध्यानाकर्षण गराएको हो।
टोलीमा परराष्ट्र, अर्थ, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग तथा सडक डिभिजन चरीकोटका अधिकारी सहभागी थिए।
टोलीले सिन्धुपाल्चोकका सुरक्षा निकाय तथा प्रशासनका प्रतिनिधिसँग समन्वय गरी नाकाको वर्तमान अवस्था, सडकको भौतिक स्थिति र सञ्चालनमा देखिएका प्राविधिक कठिनाइबारे जानकारी लिएको थियो।
अनुगमनका क्रममा सडकको अवस्थाका कारण नाका सञ्चालनमा दीर्घकालीन अवरोध आउन नदिन तथा आपूर्ति प्रणालीलाई सहज बनाउन आवश्यक उपायबारे छलफल गरिएको थियो।
अनुगमनपछि आयोजित बैठकमा नेपाली पक्षले सीमा नाकालाई थप गतिशील बनाउन तथा नेपाल–चीन व्यापारिक सम्बन्ध सुदृढ गर्न आवश्यक पूर्वाधार सुधारमा सहकार्य गर्न चिनियाँ पक्षसँग आग्रह गरेको थियो।
सीमा क्षेत्रको सडक मर्मत तथा सुधारका लागि तत्काल काम अघि बढाउने र नाका सञ्चालनमा देखिएका व्यावहारिक समस्या समाधान गर्न चिनियाँ पक्ष सकारात्मक देखिएको जनाइएको छ।
प्रशासनले पनि सीमा क्षेत्रमा सुरक्षा तथा व्यवस्थापनका लागि आवश्यक तयारी गर्ने प्रतिबद्धता जनाएको छ।
उच्चस्तरीय अनुगमन र दुई पक्षबीचको छलफलले लामो समयदेखि विभिन्न कारणले पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको तातोपानी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्