मधेश विश्वविद्यालयका उपकुलपति र नेसनल प्याब्सन नेतृत्वबिच छलफल


काठमाडौँ। मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्य र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)की राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणासहित केन्द्रीय पदाधिकारीबिच शिक्षा क्षेत्रका समसामयिक विषयमा भेटघाट तथा छलफल भएको छ।

भेटमा उच्च शिक्षा छात्रवृत्ति, शिक्षक क्षमता अभिवृद्धि तालिम, विद्यालय शिक्षाको गुणस्तर सुधार तथा विद्यालय शिक्षा र उच्च शिक्षाबिच प्रभावकारी समन्वयलगायत विषयमा छलफल भएको थियो।

छलफलका क्रममा विद्यालय तहमा अध्यापनरत शिक्षकहरूको क्षमता विकासका लागि विश्वविद्यालयसँग सहकार्य गर्ने, आधुनिक शिक्षण पद्धतिको प्रयोग बढाउने तथा अनुसन्धानमा आधारित शिक्षक तालिम सञ्चालन गर्ने विषयमा विशेष विचार–विमर्श भएको थियो। साथै, विद्यालय शिक्षालाई उच्च शिक्षाको नीति, अनुसन्धान तथा जनशक्ति विकाससँग जोड्ने विषयमा पनि छलफल भएको थियो।

विद्यालय शिक्षा र उच्च शिक्षाबिच प्रभावकारी सेतु निर्माण गर्दै विद्यार्थीको सिकाइ उपलब्धि, शिक्षकको व्यावसायिक दक्षता र समग्र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दीर्घकालीन सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।

नेसनल प्याब्सनका केन्द्रीय नेतृत्वले विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक तालिम, शैक्षिक अनुसन्धान, पाठ्यक्रम विकास, नवप्रवर्तन तथा विद्यालय–विश्वविद्यालय साझेदारीका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेको थियो।

उपकुलपति प्रा. डा. शाक्यले शिक्षा क्षेत्रको सुधारका लागि मधेश विश्वविद्यालयले आवश्यक प्राज्ञिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन सक्ने बताउँदै आगामी दिनमा सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।