काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार समिति सभापति प्रियराज रेग्मीले पुँजी बजार सुधारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा रेग्मीले रणनीतिक साझेदारबिना सरकारले घोषणा गरेका कार्यक्रम तथा नेपाल धितोपत्र बोर्डले अघि सारेका नीतिगत सुधार प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिन हुने बताए।
उनले ब्रोकर, मर्चेन्ट बैंकरलगायत पुँजी बजारका व्यवसायीको स्तरीकरण र मानकीकरण गरी सुधार प्रक्रियामा सक्रिय सहभागी गराउनुपर्नेमा जोड दिए। सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना तथा निःशुल्क परामर्शका नाममा हुने भ्रमपूर्ण प्रचारलाई नियमन गर्नुपर्ने उनको भनाइ छ।
रेग्मीले बुक बिल्डिङमार्फत आईपीओ निष्कासनलाई प्रभावकारी बनाउन संस्थागत लगानीकर्ताको संख्या र भूमिका बढाउनुपर्ने बताए। संस्थागत लगानीकर्तालाई बजारको चालक बनाउँदै व्यक्तिगत लगानीकर्ताको हित संरक्षण गर्ने व्यवस्था आवश्यक रहेको उनले उल्लेख गरे।
संस्थागत लगानीकर्तालाई आकर्षित गर्न करसम्बन्धी व्यवस्था सुधार गर्नुपर्ने भन्दै उनले हालको कर संरचनाले संस्थागत लगानीलाई निरुत्साहित गरेको बताए।
त्यस्तै, नेप्सेको बजार पुँजीकरण तथा सूचक गणना प्रणालीमा सुधार गर्दै बजारमा कारोबारका लागि उपलब्ध ‘फ्लोट सेयर’लाई आधार बनाउनुपर्ने उनको सुझाव छ।
रेग्मीले पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नेप्सेको संरचनागत सुधार, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, व्यवसायीको मानकीकरण र सूचना प्रवाहको नियमनलाई प्राथमिकता दिनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस्