काठमाडाैँ । ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रत पूजा गरिएको छ । सुरस्चन्द्र महाविहारमा मंगलवार र बुधवार दुई दिन उक्त पूजा गरिएको हो । नेपाली समुदायले विभिन्न क्षेत्रमा वसुन्धरादेवीको व्रत पुजा गर्ने गरेका छन् ।
सुरस्चन्द्र महाविहार महापाल सुधार समितिका उपाध्यक्ष ज्ञानेन्द्र शाक्यले नेपाल संवत यँलागाः तृतीयाका दिन वसुन्धरादेखिको व्रत बसी पूजा गर्ने गरेको बताए । उनकाअनुसार यस बसुन्धरा व्रतलाई कात्तिला व्रत वा धलं पनि भनिन्छ ।
महापालस्थित विहारमा परम्परादेखि नै यस तिथिमा व्रत बस्ने चलन रहँदै आएको उनले बताए । बसुन्धरादेवीको व्रतले परिवारको सुख, समृद्धि र आरोग्यसँगै राज्य सञ्चालकलाई जनताप्रतिको दायित्व र जिम्मेवारीवोध गराउने उनले उल्लेख गरे ।
उनकाअनुसार ब्रतले परिवारका सदस्यको आयु, आरोग्य, ज्ञान, धन, जन, अन्न र रत्नमा वृद्धि हुने विश्वास रहेको छ । उनले वसुन्धरा व्रतको धार्मिक मान्यताले राज्य सञ्चालन गर्ने व्यक्तिहरूलाई समेत जनताप्रति समर्पित र जिम्मेवार बन्न प्रेरित गर्ने बताए । राज्य सञ्चालक जनताप्रतिको दायित्वबाट विमुख भए त्यसको असर नागरिकले भोग्नुपर्ने उनको भनाइ छ ।
शाक्यले वसुन्धरा व्रतको कथाले पारिवारिक सम्बन्धमा अनुशासन, आपसी सम्मान र आदरको महत्वसमेत दर्शाउने बताए । व्रतको प्रसादको अपमान गरेकी सुन्दरादेवीले दुःख भोग्नुपरेको र पछि क्षमायाचना गरी वसुन्धरा देवीको पूजा तथा व्रत गरेपछि पुनः आफ्नो सुन्दर रूप प्राप्त गरेको धार्मिक मान्यता रहेको उनको भनाइ छ ।
त्यसैगरी, राजाले समेत मायामोहमा परी आफ्नो जिम्मेवारी बिर्सिएमा त्यसको असर राज्य र जनतामाथि पर्ने धार्मिक मान्यता छ ।


प्रतिक्रिया दिनुहोस्