काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता र व्यावसायिक अनुभव मुलुकको दीर्घकालीन विकासमा उपयोग गर्न आग्रह गरेका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक गतिविधिभन्दा माथि उठेर नीति निर्माण र विकासका नयाँ अवधारणामा केन्द्रित हुनुपर्नेमा जोड दिए।
उनले प्राविधिक ज्ञान भएका सांसदहरू नीति निर्माणको महत्वपूर्ण तहमा रहेकाले उनीहरूको दक्षता देश विकासका लागि उपयोग गर्नुपर्ने बताए।
‘तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,’ प्रधानमन्त्री शाहले भने।
प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत प्राथमिकतामा राख्न सुझाव दिए।
निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा आफ्नो विज्ञता सम्बन्धित विषयमा केन्द्रित गरेर देश विकासमा योगदान दिनुपर्ने उनको भनाइ थियो।
छलफलमा प्राविधिक पृष्ठभूमिका सांसदहरूको ज्ञान र अनुभवलाई दीर्घकालीन नीति निर्माणमा कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा समेत कुराकानी भएको थियो।
प्रधानमन्त्रीको आग्रहको मुख्य जोड भने राजनीतिक प्रतिनिधित्वसँगै सांसदहरूको पेशागत दक्षतालाई सार्वजनिक नीति र विकास प्रक्रियासँग जोड्ने विषयमा रहेको थियो।


प्रतिक्रिया दिनुहोस्