काठमाडौँ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
दुर्घटनामा परेर बेपत्ता भएकी एक बालिकाको शव थप फेला परेसँगै मृतक सङ्ख्या चार पुगेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा तीन जनाको शव फेला परेको थियो । थप खोजीका क्रममा बुङ्गल नगरपालिका–१० निवासी करिब ४ वर्षीया रियास महराको शव पनि फेला परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० की करिब ३५÷४० वर्षीया राजमति महरा, १५÷१६ वर्षीया तारा महरा, ५÷६ वर्षीया डल्ली महरा तथा ४ वर्षीया रियास महरा रहेका छन् ।
प्रहरीका अनुसार आज बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भई सडकबाट करिब ९०० मिटर तल भिरमा खसेर दुर्घटनामा परेको थियो । अटोमा चालकसहित ६ जना सवार रहेका थिए ।
करिब १२/१३ वर्षीय बिक्रम महरा भने सकुशल रहेका प्रहरीले जनाएको छ ।
घटनापछि अटो चालक बुङ्गल नगरपालिका–११ निवासी २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्