काठमाडाैँ । नेकपा एमालेका सांसद डा. अर्जुनकुमार कार्कीले नेपाल वायुसेवा निगमको पछिल्लो कार्यसम्पादनलाई ‘लज्जास्पद’ संज्ञा दिँदै तत्काल व्यापक संरचनागत सुधारको माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले निगमको व्यवस्थापकीय असफलता र यसका कारण सिर्जित बदनामीले सिंगो राष्ट्रको छविमा आँच पु¥याएको बताएका हुन् ।
सांसद डा. कार्कीले विश्वभरका पर्यटकीय गन्तव्यमा नेपालको उच्च सम्भावना रहे पनि वायुसेवा निगमको कमजोर व्यवस्थापनका कारण अन्य विदेशी एयरलाइन्सले यहाँको बजारबाट लाभ लिइरहँदा राष्ट्रिय ध्वजावाहक भने निरन्तर घाटामा जानु दुर्भाग्यपूर्ण भएको बताए ।
डा. कार्कीले निगमको अहिलेको संगठनात्मक ढाँचा र प्रशासनिक नियमावलीहरू व्यवसायमैत्री नभएको जिकिर गरे । उनले जहाजको संख्या नथपी व्यवसाय विस्तार सम्भव नभएको भन्दै यसमा सरकारको तत्काल र ठोस हस्तक्षेप हुनुपर्नेमा जोड दिए । यसका साथै, उनले निगमको नियमावलीमा रहेको महिला क्याबिन क्रुसम्बन्धी विभेदकारी प्रावधानप्रति पनि कडा आपत्ति जनाए ।
४५ वर्षपछि काम गर्न नपाउने भनी बनाइएको नियमावली संविधान र सर्वोच्च अदालतको आदेशविपरित रहेको उल्लेख गर्दै उनले तत्काल यस्ता विभेदकारी नीति खारेज गर्न आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्