काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को बिग्रँदो अवस्था सुधार गर्न हतारमा निर्णय लिनुभन्दा विज्ञहरूको सहभागितामा एक्सन रिसर्च’ गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद विश्वकर्माले निगमको ऋण, कानूनी अड्चन र प्रशासनिक संरचनाको गहिरो अध्ययन आवश्यक रहेको बताएका हुन् । सांसद विश्वकर्माले नेपाल एयरलाइन्सको व्यवस्थापनमा देखिएको विरोधाभासलाई चिर्न ठोस कार्ययोजनाको खाँचो औंल्याए ।
निगमको समस्या समाधानका लागि मन्त्रीस्तरीय तहमै भइरहेका टीकाटिप्पणीप्रति इंगित गर्दै उनले आधारहीन निर्णय गर्दा कानूनी झमेला निम्तने चेतावनी दिए ।
उनले भने, “निगममा काम गर्न चाहनेहरूको ठूलो पंक्ति छ, सुविधा पनि आकर्षक छ, तर प्रतिफल निराशाजनक छ । यो अवस्थालाई सुधार्न अब पुराना अध्ययनहरूको समीक्षा गर्दै नयाँ बिजनेस प्लान आवश्यक छ । आधार र कानून नटेकी गरिने निर्णय अदालत पुग्ने निश्चित छ । त्यसैले हतारमा पीपीपी मोडेलमा लैजानु भन्दा पहिले यसका प्रशासनिक र वित्तीय पक्षको चिरफार गर्न एउटा दक्ष समिति गठन गरिनुपर्छ ।”
पर्यटन प्रवद्र्धनमा देखिएका कानूनी जटिलताको उदाहरण दिँदै उनले विदेशी पर्यटकका लागि लागू गरिएको महँगो हवाई भाडादरले पर्यटन आगमनमा नकारात्मक असर पारेको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस्