काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्ट्यान्डबाइमा राखिएका विद्युतीय उपकरण तथा प्लगमै जोडेर छाडिएका चार्जरबाट ५ देखि २० प्रतिशतसम्म विद्युत् अनावश्यक रूपमा खपत हुनसक्ने बताएका छन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले यस्तो खपतलाई ‘एनर्जी भ्याम्पायर’ वा ‘फ्यान्टम इनर्जी’ भनिने उल्लेख गर्दै विद्युत् मितव्ययी रूपमा प्रयोग गर्न आग्रह गरे।
नेपालमा करिब ६० देखि ६५ लाख विद्युत् उपभोक्ता रहेको भन्दै श्रेष्ठले प्रत्येक घरको सानो अनावश्यक खपतले समग्र विद्युत् प्रणालीमा ठूलो भार पार्न सक्ने बताए। यस्तो खपत घटाउँदा ट्रान्सफर्मरको भार कम हुनुका साथै विद्युत् आपूर्ति व्यवस्थापनमा समेत सहज हुने उनको भनाइ छ।
उनले आम नागरिकसँगै सरकारी कार्यालयलाई पनि कार्यालय बन्द भएपछि अनावश्यक बत्ती तथा विद्युतीय उपकरण बन्द गर्न आग्रह गरे। पछिल्ला बाढीबाट ऊर्जा क्षेत्रमा क्षति पुगेको र विद्युत्को माग बढिरहेको अवस्थामा आगामी जाडोयाममा मितव्ययी प्रयोगमा थप संवेदनशील हुनुपर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस्