काठमाडौँ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।
सुरक्षा सम्बन्धी संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयको सिफारिसपछि गृह मन्त्रालयले दाहाललाई निलम्बन गर्दै छानविन समित गठन गरिएको छ ।
गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार दाहालमाथि लागेको आरोपबारे विस्तृत छानबिन गर्न निलम्बन गरिएको हो । मन्त्रालयले आज निलम्बन गर्दै तीन दिनभित्र छानबिन सम्पन्न गरेर प्रतिवेदन पेश गर्न एक छानबिन अधिकृतसमेत तोकेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल,नेपालबाट कारबाहीका लागि मन्त्रालयमा सिफारिस प्राप्त भएको अभियोगमाथि जाँचबुझ गर्न निजलाई निलम्बन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत तोकिएको छ।“
गृह मन्त्रालयले शान्ति सुरक्षा तथा सार्वजनिक हितसँग जोडिएका संवेदनशील सूचनाको गोपनीयता कायम राख्न सबै सुरक्षा निकायका कर्मचारी जिम्मेवार हुनुपर्ने उल्लेख गरेको छ। मन्त्रालयले गोप्य सूचना चुहावट, आचरणविपरीत गतिविधि तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने कुनै पनि कार्यप्रति शून्य सहनशीलता अपनाइने स्पष्ट पारेको छ।
यस्ता गतिविधिमाथि निरन्तर निगरानी र विश्लेषण भइरहेको छ उल्लेख गर्दै गृह मन्त्रालयले भनेको छ,“कानुन विपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ ।”


प्रतिक्रिया दिनुहोस्