नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा आफैले किन छाप्न सकेन ७० करोड थान सिक्का ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका सिक्का छाप्न आइतबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

यस्तै दुई रुपैयाँ दरका ३० करोड थान सिक्का छापन सोमबार बोलपत्र आह्वान गरेको छ । यद्यपी सिक्का छाप्नकै लागि राष्ट्र बैंकसँग टक्सार महाशाखा छ । सिक्का छाप्ने आफ्नै प्रणाली हुँदा पनि नेपाल राष्ट्र बैंकले भने बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्का डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीसम्बन्धी कामका लागि बोलपत्र माग गरेको छ ।

यसअघि छनोट भइसकेका योग्य सुरक्षा मुद्रण तथा सिक्का छाप्ने कम्पनीहरूले बोलपत्रमा सहभागी हुन सक्नेछन् । यसअघि फागुन २०८१ मा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ हुन् ।

२०७२ सालको भूकम्पपछि नेपाल राष्ट्र बैंक,टक्सार महाशाखाले मेसिन मर्मत गरेर २०७८ चैतपछि पुन : सिक्का छाप्न सुरु गरेको थियो । २०७२ सालको भूकम्पपछि टक्सारका मेसिनहरू अलपत्र परेका थिए भने धरहरा पुननिर्माणका क्रममा काठमाडौंको सुनधरामा रहेको टक्सार महाशाखा समेत विस्थापित भएको थियो । बबरमहलमा औषधि व्यवस्था विभागको जग्गा भाडामा लिएर कार्यालय स्थापना गरेको लामो समयपछि महाशाखाले सिक्का छापेको थियो ।

२०४० सालमा नेपाल सरकारले नेपाल राष्ट्र बैंकलाई टक्सार विभाग हस्तान्तरण गरेको थियो भने अहिले महाशाखामा खुम्चाइएको छ । मेसिनहरू हुँदाहुँदै पनि नेपाल राष्ट्र बैंकले टेण्डर गरेर विदेशमा सिक्का छाप्ने गरेको छ । २०७८ सालमा तत्कालनि निर्देशक विनोद आचार्यले चलनचल्तीको सिक्का छाप्नका लागि भने केही समय लाग्ने बताएका थिए ।

राष्ट्र बैंकले २०६० सालदेखि नेपालमा चलनचल्तीका सिक्का छापेको छैन । निर्देशक आचार्यले भनेका थिए,“अहिले सुनका असर्फी र मेडलहरु छाप्ने भयौं, चलनचल्तीका लागि सिक्का छाप्न अझै समय लाग्छ ।” यद्यपी टक्सार महाशाखाले ठुलो परिमाणको अवस्थामा सिक्का छाप्न नसक्ने अवस्था बनेको देखिएको छ ।

गत साउनमा राष्ट्र बैंकले एक रूपैयाँको सिक्कामा नेपालको नक्सा हटाएर मुस्ताङको ऐतिहासिक लो घ्याकर गुम्बाको चित्र राख्न प्रस्ताव गरेको नयाँ डिजाइनलाई मन्त्रिपरिषद्ले परिमार्जनका लागि फिर्ता पठाएको थियो। मन्त्रिपरिषद्ले सिक्काबाट नेपालको राष्ट्रिय नक्सा हटाउन नहुने स्पष्ट पार्दै नक्सासहितको पुनः डिजाइन ल्याउन निर्देशन दिएको थियो। राष्ट्र बैंकले पठाएको सिक्काको डिजाइन मन्त्रिपरिषद् बैठकले परिमार्जनका लागि पहिलो पटक फिर्ता पठाएको थियो ।

‘टक्सार महाशाखा अहिले पूर्ण क्षमतामा सञ्चालनमा छैन’
गुरुप्रसाद पौडेल
प्रवक्ता
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखा अहिले पूर्ण क्षमतामा सञ्चालनमा छैन । २०७२ सालको भूकम्पपछि टक्सार महाशाखामा ठुलो क्षति पुगेको थियो । अहिले राष्ट्र बैंकले ‘मिनी मिन्ट’ सञ्चालन गर्दैं आइरहेको छ । हाल टक्सारमा केही विशेष प्रकृतिका सिक्का तथा धातुजन्य सामग्री मात्रै उत्पादन गरिन्छ । अहिले मिनी मिन्टले विशेषगरी चाँदीका मेडालियन, स्मारिका सिक्का, कमेमोरेटिभ कोइन, स्मृति दिवस वा विशेष अवसरका लागि जारी गरिने सिक्का तथा केही सुनका अर्सफी र मेडालियन मात्र छापिरहेको छ । आवश्यक पर्ने विशेष प्रकृतिका सिक्कासमेत टक्सारको यही न्यूनतम क्षमताबाट उत्पादन गरिँदै आएको छ ।

देशमा चलनचल्तीका लागि आवश्यक पर्ने विभिन्न दरका सिक्का उत्पादन गर्न भने पूर्ण क्षमताको आधुनिक ‘मिन्ट’ आवश्यक पर्छ । यस्तो पूर्ण क्षमताको मिन्ट सञ्चालनमा नआएसम्म नेपालले आवश्यक सिक्का बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन् ।

राष्ट्र बैंकले भुकम्पभन्दा पहिले नै सिक्का आयात गर्न सुरु गरिसकेको थियो । सिक्का उत्पादनका लागि आवश्यक पूर्वाधार र प्रविधिको अभावका कारण पनि नेपालले पछिल्लो समय सिक्का आयात गर्दै आएको हो । पुरानो टक्सार,बजारको बिचमा रहेको र त्यहाँ धातु पगाल्ने, प्रशोधन गर्ने तथा सिक्का उत्पादन गर्ने क्रममा धुवाँ र धुलोबाट प्रदूषण हुने अवस्था थियो । साथै, पुरानो प्रविधिबाट आधुनिक स्तरको सिक्का उत्पादन गर्न कठिनाइसमेत थियो । यी कारणले आवश्यक सिक्का बाहिरबाट खरिद गर्ने प्रक्रिया अघि बढाइएको हो ।

आधुनिक ‘मिन्ट’ स्थापना गर्न ठलो लगानी र सञ्चालन खर्च आवश्यक पर्छ । नेपाललाई आवश्यक पर्ने सिक्काको मात्रालाई हेर्दा त्यति ठुलो क्षमताको मिन्ट स्थापना गर्दा त्यसको लागत तुलनात्मक रूपमा महँगो पर्न सक्छ । राष्ट्र बैंकले २०७७ सालमा नै ३० करोड सिक्का छाप्नका लागि टेन्डर खुलाएको थियो ।

नेपाललाई आवश्यक पर्ने सिक्काको परिमाण सीमित हुँदा ठुलो क्षमताको आधुनिक मिन्ट स्थापना गर्दा त्यसको पूर्ण क्षमताको उपयोग नहुन सक्छ । आधुनिक मिन्टको निर्माण र सञ्चालन खर्चसमेत निकै ठुलो हुने भएकाले आवश्यकताअनुसार सिक्का उत्पादन गर्नु तुलनात्मक रूपमा महँगो पर्न जाने देखिन्छ ।

यही कारण नेपाल राष्ट्र बैंकले आवश्यक सिक्का ग्लोबल टेन्डरमार्फत खरिद गर्दै आएको छ । अहिले पनि आवश्यक पर्ने सिक्का त्यही प्रक्रियाबाट खरिद गर्ने तयारी भइरहेको हो ।

नेपालमा सिक्का उत्पादनको इतिहास भने नेपाल राष्ट्र बैंकको स्थापनाभन्दा पनि पुरानो छ । नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा धेरै वर्षअघिदेखि नै नेपालमा सिक्का उत्पादन हुँदै आएका थिए । सुरुमा सिक्का उत्पादनको काम नेपाल सरकारले गर्दै आएको थियो । टक्सार विभाग नेपाल राष्ट्र बैंकअन्तर्गत भने २०४० सालमा आएको हो । नेपाल राष्ट्र बैंकको स्थापना २०१३ सालमा भए पनि सिक्का उत्पादन गर्ने २०४० सालमा राष्ट्र बैंकको मातहतमा आएको हो ।

राष्ट्र बैंकअन्तर्गत आएपछि लामो समयसम्म टक्सारले नेपालमा आवश्यक पर्ने विभिन्न दरका सिक्का उत्पादन गर्दै आएको थियो । २५ पैसा, ५० पैसा, एक रुपैयाँ, दुई रुपैयाँलगायतका विभिन्न दरका सिक्का टक्सारबाट छाप्दै आएको थियो । तर समयसँगै सिक्का उत्पादनमा नयाँ प्रविधिको आवश्यकता बढ्दै गयो।

बजारमा आवश्यक पर्ने सिक्काको माग पनि बढ्दै जाँदा पुरानो संरचना र प्रविधिबाट त्यसको आपूर्ति गर्न कठिन हुँदै गयो। आधुनिक मिन्ट स्थापना गर्न ठूलो लगानी आवश्यक पर्ने भएकाले नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार सिक्का आफैं उत्पादन गर्नेभन्दा बाह्य स्रोतबाट खरिद गर्ने विकल्प अपनाउँदै आएको हो । नेपालमा पूर्ण क्षमताको आधुनिक मिन्ट स्थापना गर्ने विषय भने चर्चामै रहेको छ ।

विशेष प्रकृतिका स्मारिका सिक्का, मेडालियन तथा अन्य धातुजन्य सामग्री उत्पादन गर्ने काम टक्सारबाट भइरहेको छ भने नियमित चलनचल्तीका लागि आवश्यक पर्ने सिक्का भने बाह्य बजारबाट खरिद गरिँदै आएको छ।

आवश्यक चलनचल्तीका सिक्का उत्पादन गर्न आधुनिक पूर्वाधार आवश्यक पर्ने भएकाले अहिलेको टक्सारबाट नियमित ठुलो परिमाणमा सिक्का उत्पादन सम्भव नभएको हो ।