काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् ।
३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी नेपाल वायुसेवाको नियमित उडानमार्फत नयाँ दिल्ली जाने कार्यक्रम छ ।
प्रधानमन्त्री शाह दिउँसो १ ४५ दिल्ली प्रस्थान गर्नेछन्
भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्च सरकारी अधिकारी सहभागी छन् ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारी, ५२ सदस्यीय नेपाली व्यवसायी टोली तथा निजी सञ्चारमाध्यमका पत्रकारसमेत सहभागी हुने भएकाले भ्रमण टोलीको सङ्ख्या एक सयभन्दा बढी पुग्ने भएको छ ।
नेपालले भ्रमणमार्फत आर्थिक कूटनीति, लगानी प्रवर्धन तथा निजी क्षेत्रबिचको सहकार्यलाई प्राथमिकतामा राखेको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार भ्रमणका क्रममा आयोजना हुने नेपाल–भारत बिजनेस फोरममा दुवै देशका व्यवसायीबिच लगानी, व्यापार र आर्थिक सहकार्यका सम्भावनाबारे छलफल हुनेछ ।
सरकारको अपेक्षा भारतीय लगानी आकर्षित गर्ने, नेपाली विद्युत्को निर्यात बजार विस्तार गर्ने, पारवहन सहजीकरण गर्ने तथा ऊर्जा र पूर्वाधार क्षेत्रमा नयाँ सहकार्य अघि बढाउने रहेको छ ।
भ्रमणअघि भारतको विदेश मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गर्दै नेपालसँगको सम्बन्धलाई आफ्नो ‘नेबरहुड फस्र्ट’ नीतिअन्तर्गत उच्च प्राथमिकतामा राखिएको जनाएको छ । भारतले प्रधानमन्त्री शाहको भ्रमणलाई दुई देशबिचको आर्थिक तथा विकास साझेदारीलाई थप सुदृढ बनाउने अवसरका रूपमा चित्रित गर्दै ऊर्जा, व्यापार, लगानी, पूर्वाधार विकास तथा कनेक्टिभिटी क्षेत्रमा सहकार्य विस्तार हुने विश्वास व्यक्त गरेको छ ।
भारतीय पक्षले हाल ऊर्जा व्यापार, प्रसारण लाइन, पूर्वाधार तथा सम्पर्क सञ्जाल क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै ती क्षेत्रलाई आगामी सहकार्यको मुख्य आधारका रूपमा प्रस्तुत गरेको छ ।
आजदेखि हुने प्रधानमन्त्री शाहको भ्रमणकाक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको प्रतिनिधिमण्डलस्तरीय वार्तामा व्यापार तथा वाणिज्य, ऊर्जा, जलस्रोत, पारवहन, भौतिक तथा डिजिटल कनेक्टिभिटी, लगानी र विकास साझेदारीका विषय प्रमुख एजेन्डाका रूपमा रहनेछन् ।
भ्रमणका क्रममा ऊर्जा तथा सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाको उद्घाटन, नयाँ आयोजनाको शिलान्यास तथा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुने तयारी छ ।
भारतले यो भ्रमणलाई नेपालसँगको सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा लिएको छ भने नेपालले यसलाई ऊर्जा, व्यापार, लगानी र पूर्वाधार सहकार्यलाई ठोस उपलब्धितर्फ अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरेको छ ।


प्रतिक्रिया दिनुहोस्