अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजकमा जी–सेभेन एग्रिकल्चर


काठमाडौं । नेपालमा आधुनिक कृषि प्रविधिको विस्तारमा सक्रिय जी–सेभेन एग्रिकल्चर प्रालि अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बनेको छ ।

“कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि” भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनी आगामी मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २०–२२, २०२६) काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । तीन दिनसम्म चल्ने प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ । 

कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागकाे कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो।  

प्रदर्शनीकाे नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा रहनेछन् । 

बागमती प्रदेश कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, हेटौंडा सहआयोजक रहेको प्रदर्शनीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएमपी) ले प्रवर्द्धनकाे भूमिकामा रहनेछ । 

प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ भने दुई हजारभन्दा बढी कृषि यन्त्र तथा प्रविधिजन्य सामग्री प्रदर्शन गरिने अध्यक्ष कृष्ण शर्माले जानकारी दिए । करिब २०० वटा स्टल रहने प्रदर्शनीमा ५० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ ।

नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रको रूपान्तरणमा टेवा पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो । वि.सं. २०७१ सालमा स्थापना भएको गैरनाफामूलक संस्था नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) र सरकारका विभिन्न निकायको सहकार्यमा हालसम्म पाँचपटक राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, एकपटक प्रादेशिक प्रदर्शनी तथा एकपटक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी सम्पन्न भइसकेका छन्।

यसअघि वि.सं. २०७० सालमा चितवनको भरतपुरमा तत्कालीन कृषि इन्जिनियरिङ निर्देशनालयको अगुवाइमा पहिलो कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरिएको थियो । सोही पृष्ठभूमिमा यस वर्ष आयोजना हुन लागेको अन्तर्राष्ट्रिय संस्करण थप बृहत्, प्रविधिमैत्री र प्रभावकारी हुने विश्वास नेपाल कृषि मेसिनरी व्यवसायी संघले व्यक्त गरेको छ ।

प्रदर्शनीकाे प्लाटिनम स्पाेन्सर जी–सेभेनले विशेषगरी थोपा सिँचाइ, स्प्रिंकलर सिँचाइ तथा आधुनिक ग्रीनहाउस प्रविधिमा काम गर्दै नेपालमा कृषि प्रविधिको विस्तारमा योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

इजरायलमा सात वर्षभन्दा बढी समय कृषि क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गरी सन् २०११ मा नेपाल फर्किएका अर्जुन प्रसाद लुइँटेलसहितको टोलीले कम्पनी स्थापना गरेको हो । कम्पनीले ललितपुरको हरिसिद्धीस्थित आफ्नै फेब्रिकेसन युनिटमार्फत आधुनिक ग्रीनहाउस निर्माण तथा उत्पादन गर्दै आएको छ।

जी–सेभेनका अनुसार हाल कम्पनीले नेपालका ६५ भन्दा बढी जिल्लामा प्रविधि तथा सेवा विस्तार गरेको छ । कम्पनीमा ६० जनाभन्दा बढी दक्ष प्राविधिक तथा विशेषज्ञ कार्यरत छन् भने देशभर ६० भन्दा बढी डिलर तथा सेवा साझेदारमार्फत किसानलाई प्रत्यक्ष सेवा उपलब्ध गराउँदै आएको छ ।