काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले इजरायल रोजगारीमा पठाइदिने नाममा ठगी भएको विषयमा उजुरी दिन पीडितहरूलाई आग्रह गरेको छ ।
सिआइबीले आज सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकार र इजरायल सरकारबिचको ‘जी टु जी’ प्रक्रियामार्फत केयरगिभर रोजगारीका लागि सञ्चालन गरिएको परीक्षाको नाममा पीडितहरूबाट ठुलो रकम ठगी भएको आरोपमा अनुसन्धान भइरहेको र उजुरी दिन आग्रह गरेको छ ।
ब्युरोका अनुसार उक्त प्रकरणमा सङ्गठित अपराध, ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको छ । यस मुद्दामा रामेछापको सुनापति गाउँपालिका–१ निवासी भरतप्रसाद चौलागाईंसहित चार जनालाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको ब्युरोले जनाएको छ ।
सिआइबीले प्रतीक्षा सूचीमा रहेका युवाहरूको वैदेशिक रोजगारीप्रतिको आकाङ्क्षा, विश्वास र मानसिक अवस्थाको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा रकम असुल गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उल्लेख गरेको छ ।
पीडितहरूबाट करोडौं रुपैयाँ ठगी भएको दाबीसमेत अनुसन्धानको दायरामा रहेको ब्युरोको भनाइ छ । घटनाबाट आफू पनि पीडित भएको ठान्ने व्यक्ति वा परिवारलाई नजिकको प्रहरी कार्यालय वा सिधै सिआइबीमासम्पर्क गरी जाहेरी तथा आवश्यक प्रमाण पेश गर्न आग्रह गरिएको छ ।
पीडितहरूको उजुरी र प्रमाणका आधारमा थप अनुसन्धान अघि बढाइने तथा दोषीमाथि कानुनबमोजिम कारबाही गरिने सिआइबीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्