काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू र नातेदारको घरमा छापा मारेको छ ।
स्रोतका अनुसार जबरासहित नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा टोलीले छापा मारिरहेको छ। अनुसन्धानका क्रममा जबराका केही नातेदारको घरमा समेत टोली पुगेको स्रोतले जनाएको छ।
जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि विभागको टोलीले खोजतलास गरेको बताइएको छ। स्रोतका अनुसार जबराका निकटस्थ व्यक्तिका घरबाट अनुसन्धानसँग सम्बन्धित महत्वपूर्ण कागजातसमेत बरामद गरिएको छ।
विभागले विभिन्न व्यक्तिको सम्पत्ति, आर्थिक कारोबार तथा सम्भावित सम्बन्धबारे प्रमाण संकलन गरिरहेको स्रोतको दाबी छ।
जबरामाथि पछिल्ला दिनमा अनुसन्धान तथा कानुनी निगरानी बढेको देखिन्छ। केही दिनअघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आफ्नै निवासबाट मध्यराति पक्राउ गरेको थियो। करिब १२ घण्टा नियन्त्रणमा राखिएपछि उनलाई छाडिएको थियो।


प्रतिक्रिया दिनुहोस्