अमेरिकी सेनाको मानवीय तथा सैन्य क्षति सार्वजनिक गरेभन्दा धेरै ठुलो रहेको इरानको दाबी


काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी सेनाको मानवीय तथा सैन्य क्षति सार्वजनिक रूपमा बताइएभन्दा धेरै ठुलो रहेको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, “मे महिनामा अमेरिकी कांग्रेसको अनुसन्धान निकाय सिआरएसले इरानी सशस्त्र बलले अमेरिकी सेनाका ४२ वटा सैन्य विमान नष्ट गरेको स्वीकार गरेको थियो । अहिले त्यो सङ्ख्या ८१ पुगेको छ ।”

अराघचीले अमेरिकी क्षतिको वास्तविक विवरण लुकाइएको आरोप पनि लगाएका छन्।

उनले भनेका छन्,“प्रमाण चाहिन्छ ? अमेरिकी सेनाको केन्द्रीय कमाण्डले सबै अवस्था सामान्य रहेको दाबी गरे पनि एक बहालवाला अमेरिकी सिनेटरलाई समेत ती सैन्य अड्डाहरूको निरीक्षण गर्न अनुमति दिएको छैन । ”

उनको दाबी अनुसार, अमेरिकी सैनिकको मृत्यु सङ्ख्या र युद्धका क्रममा नष्ट भएका सैन्य सामग्रीको वास्तविक परिमाण सार्वजनिक गरिएको तथ्याङ्कभन्दा धेरै बढी छ ।

साथै, उनले अमेरिका स्वयंले पनि इरानसँगको युद्धका कारण अर्बौं डलर बराबरको क्षति व्यहोरेको स्वीकार गरिसकेको उल्लेख गरेका छन् ।