यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदैः व्यवस्थापन सङ्काय मात्रै ४३ हजारभन्दा बढी


काठमाडाैँ । त्रिभूवन विश्वविद्यालयले चालु शैक्षिक वर्षमा स्नातकदेखि विद्यावारिधिसम्मका ९५ हजार ५४० विद्यार्थीलाई दीक्षित गर्ने भएको छ ।

बिहीबार त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस बैठकले ६४ औँ ग्रेस लिस्ट पारित गर्दै उक्त संख्याका विद्यार्थीलाई दिक्षान्त समारोहमा सहभागी गराउने निर्णय गरेको हो ।

त्रिविका रजिस्ट्रार रविन्द्र शिवाकोटीले प्रश्तुत गरेको विवरणअनुसार २०८२ असार १ गतेदेखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई ६४औँ ग्रेस लिस्टमा समावेश गरिएको छ । ग्रेस लिस्टमा परेका विद्यार्थी मध्ये ८४ दशमलव ९० प्रतिशत साधारण र १५ दशमलव १० प्रतिशत प्राविधिकतर्फका रहेका छन् ।

ग्रेस लिस्टअनुसार एमफिलतर्फ २५३, पोस्ट ग्राजुएट डिप्लोमातर्फ १८४ र विद्यावारिधितर्फ १६६ विद्यार्थी रहेका छन् । संकाय तथा अध्ययन संस्थानतर्फ व्यवस्थापन संकायका सबैभन्दा धेरै ४३ हजार १४२, शिक्षाशास्त्रमा १० हजार ५३३, मानविकी तथा सामाजिकशास्त्रमा १५ हजार ४४१ र कानुनमा ३ हजार १ विद्यार्थी रहेका छन् ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानमा ५ हजार १६०, चिकित्साशास्त्र अध्ययन संस्थानमा १ हजार ९२०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ४६३ र वन विज्ञान अध्ययन संस्थानमा १९२ विद्यार्थी रहेको रजिस्टार शिवोकोटीले जानकारी दिए।

विश्वविद्यालयले आगामी पुसमा काठमाडौंमा मूल दिक्षान्त समारोह आयोजना गर्ने तयारी गरिरहेको समेत उनले जानकारी दिए । यस वर्षदेखि विद्यार्थीको सहजताका लागि सातै प्रदेशमा दीक्षान्त समारोह सञ्चालन गरिनेछ ।