काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका कृषि व्यवसाय पृष्ठभूमिका तीन सभापतिले कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई भेटेर अलैँची उत्पादन, प्रसोधन र निर्यातबारे छलफल गरेका छन् ।
सामाजिक सेवा समिति एवं विपद् तथा दैवी प्रकोप समिति सभापति राजकुमार कार्की, स्थानीय आर्थिक विकास समिति सभापति दीपक नेपाल र महिला उद्यमी विकास समिति सभापति सुनिता नेम्हाफुकीले मन्त्री चौधरीलाई भेटेर अलैँचीको उत्पादन तथा प्रवर्धनबारे छलफल गरेका छन् ।
उनीहरूले नेपालबाट सबैभन्दा धेरै निर्यात हुने अलैँचीबारे सरकारले कम चासो दिएको गुनासो गरेका छन् ।
उनीहरूले कम्तिमा वर्षिक १२ अर्ब रुपैयाँ बराबरको अलैंची निर्यात हुने भए पनि यसबारे अहिलेसम्म राष्ट्रिय नीति नभएको, यसलाई हेर्ने अलग्गै निकाय नभएको र क्षेत्र विस्तार भए पनि उत्पादकत्व घट्दै गएकोबारे मन्त्री चौधरीलाई जानकारी गराएका छन् ।
सभापति कार्कीले भने,“ अलैँची सबैभन्दा धेरै निर्यात हुने कृषि उत्पादन हो तर यो अन्य सामान्य निर्यात हुने सामाग्रीको छायाँमा परेको छ । यसबारे स्पष्ट नीति बन्नुपर्ने र कृषि उपजलाई विशिष्टिकृत गर्न मन्त्री ज्यूलाई आग्रह गरेका छौँ ।”
भेटमा अलैंचीको राष्ट्रिय नीति ल्याउन माग गरेको स्थानीय आर्थिक विकास समिति सभापति दीपक नेपालले जानकारी दिए । अलैँची व्यवसायी महासङ्घको अध्यक्षसमेत रहेका नेपालले अलैंची क्षेत्रलाई हेर्ने छुट्टै निकाय आवश्यक भएको जानकारी गराएको, राष्ट्रिय नीति अहिलेसम्म बन्न नसकेको लगायतका विषयमा मन्त्री चौधरीलाई जानकारी गराएको बताए ।
उनले भने,“अलैँचीको क्षेत्र विस्तार हुँदा पनि उत्पादन बढेको छैन । हाम्रो उत्पादकत्व चाहीँ किन बढ्न सकेन भनेर अध्ययन गर्न चाही आवश्यक छ । यस विषयमा कृषि मन्त्रालयले अनुसन्धान गरोस भनेर पनि भनेका छौँ । यति ठुलो उत्पादन भएर पनि हेर्ने अलग्गै निकाय छैन । ईलाममा रहेको अलैँची विकास केन्द्र कार्यालय छ । यसलाई विस्तार गर्नुपर्छ भन्यौँ र यसको राष्ट्रिय नीति बन्नुपर्छ भनेका छौँ ।”
भेटमा निर्यात गर्दा कृषिजन्य उत्पादन वा नेपालको प्राथमिक उत्पादनलाई अलग्लै राख्ने विषयमा ध्यान दिन भेटमा मन्त्री चौधरीलाई सुझाव दिइएको छ ।
छलफलका क्रममा मन्त्री चौधरीले सुझावलाई आफूले सकारात्मकरूपमा लिएको र सल्लाह लिएर अलैंचीको विषयमा गम्भीरताका साथ लाग्ने आश्वासन दिएको सभापति नेपालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्