चाडबाड लक्षित सुरक्षाः पोखराका नाकाहरूमा कुकुरसहितको छड्के जाँच


पाेखरा । नजिकिँदै गरेका चाडपर्वहरूलाई मध्यनजर गर्दै कास्की प्रहरीले पोखरा भित्रने मुख्य नाकाहरूमा सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।

आपराधिक गतिविधि नियन्त्रण र लागुऔषध ओसारपसार रोक्ने उद्देश्यका साथ प्रहरीले तालिमप्राप्त कुकुरसहित आकस्मिक (सप्राइज) जाँचलाई तीव्र बनाएको हो । पोखरा अन्य जिल्लाहरूसँग जोड्ने प्रमुख ट्रान्जिटका रूपमा रहेको हुनाले चाडबाडको मौका छोपी हुनसक्ने गैरकानूनी गतिविधि रोक्न प्रहरीले उच्च शतर्कता अपनाएको छ ।

यसै सिलसिलामा पोखरा महानगरपालिका–२५, हेम्जास्थित सुइखेतमा विशेष सुरक्षा जाँच गरिएको छ । उक्त जाँच अभियानमा गण्डकी प्रदेश प्रहरी कार्यालयको समन्वयमा लागुऔषध र विस्फोटक पदार्थ पत्ता लगाउन सक्ने विशेष तालिमप्राप्त कुकुरहरूको प्रयोग गरिएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र पासवानकाअनुसार यात्रुहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र कुनैपनि आपराधिक घटना हुन नदिन यो अभियान सञ्चालन गरिएको हो । 

जनपद प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरी पोखराका विभिन्न संवेदनशील क्षेत्रमा यस्तो जाँच भइरहेको छ । चाडपर्वको अवधिभर यो आकस्मिक सुरक्षा अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

नागरिकलाई निर्धक्क भई यात्रा गर्न र सुरक्षा निकायलाई सहयोग पु¥याउन प्रहरीले आग्रह गरेको छ । –न्युज एजेन्सी नेपाल