क्यान महासङ्घका पूर्व अध्यक्ष कुँवरद्वारा कार्यवाहक अध्यक्ष अधिकारीका आरोपको खण्डन


काठमाडौँ । क्यान महासङ्घका पूर्व अध्यक्ष नवराज कुँवरले कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नामबाट जारी प्रेस विज्ञप्तिमार्फत आफूमाथि लगाइएका आरोपहरूको खण्डन गर्दै ती आरोप तथ्यहीन, प्रमाणविहीन र भ्रामक भएको बताएका छन् ।

उनले आरोपहरूको तथ्यगत आधार सार्वजनिक गर्न चुनौती दिँदै संस्थाभित्र उठेका गम्भीर विषयबाट ध्यान अन्तै मोड्न पूर्व पदाधिकारीमाथि आरोप लगाइएको दाबी गरेका छन् ।

कुँवरले सार्वजनिक गरेको खण्डनमा साइबर ब्युरोमा उजुरी परेको विषयलाई आधार बनाएर आफूलाई दोषीका रूपमा चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । “कुनै निकायमा उजुरी पर्नु र आरोप प्रमाणित हुनु फरक विषय हुन् । अनुसन्धानको निष्कर्ष नआउँदै कसैलाई दोषीका रूपमा प्रस्तुत गर्नु न्यायको आधारभूत सिद्धान्त विपरीत हुन्छ,” उनले उल्लेख गरेका छन् ।

त्यस्तै, एएसओसिओ (ब्क्इऋक्ष्इ) को उपाध्यक्षका रूपमा आफ्नो सहभागितालाई विवादको विषय बनाइएकोप्रति पनि कुँवरले असन्तुष्टि जनाएका छन् । उक्त भूमिकाबारे दुई महिनाअघि नै क्यान महासंघलाई लिखित जानकारी गराइसकेको दाबी गर्दै उनले अन्तर्राष्ट्रिय जिम्मेवारीलाई आन्तरिक विवादसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताएका छन् ।

खण्डनमा कुँवरले वर्तमान नेतृत्वमाथि समेत प्रश्न उठाएका छन् । कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेपछि चिरञ्जीवी अधिकारीले अध्यक्ष परिषद्बाट प्राप्त कार्यादेशअनुसार के–कति काम सम्पन्न गरे, संस्थागत विवाद समाधानका लागि के पहल गरे र महासङ्घको प्रशासनिक व्यवस्थापनमा के उपलब्धि हासिल भए भन्ने विषय सार्वजनिक गर्नुपर्ने उनले बताएका छन् ।

उनले क्यान महासंघको घरजग्गा कोषमा विगतमा रहेको भनिएको करिब ३३ लाख रुपैयाँको अवस्थाबारे पनि पारदर्शी हिसाब सार्वजनिक गर्न माग गरेका छन् । “घरजग्गा कोषको रकमसम्बन्धी प्रश्न उठिरहेका बेला त्यसको जवाफ दिनुको सट्टा पूर्व पदाधिकारीमाथि आरोप लगाएर विषयान्तर गर्न खोजिएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ,”कुँवरको भनाइ छ।

एकपक्षीय आरोपका आधारमा आफ्नो सामाजिक, व्यावसायिक र संस्थागत प्रतिष्ठामा असर पु¥याउने प्रयास भएको दाबी गर्दै कुँवरले आरोपको तथ्यगत आधार सार्वजनिक गर्न वा स्वतन्त्र तथा निष्पक्ष छानबिनमार्फत सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेका छन् । उनले अन्त्यमा “पत्रकारिता कुनै पक्षको मुखपत्र बन्नु हुँदैन, आरोपलाई प्रमाणको विकल्प बनाइनु हुँदैन,” भन्दै क्यान महासंघभित्रका विवादहरू विधान, आधिकारिक अभिलेख, आर्थिक पारदर्शिता र निष्पक्ष छानबिनका आधारमा समाधान हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

कुँवरले विज्ञिप्तिमा आधारित भएर प्रकाशित भएको समाचार खण्डन गरिदिन पनि टक्सार न्युजलाई आग्रह गरेका छन् । उनले गम्भीर आरोपसहितका समाचारले व्यक्तिको सामाजिक, व्यावसायिक तथा संस्थागत प्रतिष्ठामा असर पार्न सक्ने भएकाले तथ्य परीक्षण र सम्बन्धित पक्षको प्रतिक्रिया अनिवार्य रूपमा समावेश गरिनुपर्ने बताएका छन् ।

उनले भनेका छन्,“आरोप लगाउने अधिकार भए त्यसको तथ्यगत आधार सोध्ने अधिकार पनि हुन्छ। समाचार प्रकाशन गर्ने अधिकार भए प्रकाशित सामग्रीको तथ्यगत खण्डनलाई उचित स्थान दिने व्यावसायिक दायित्व पनि हुन्छ,” उनले भनेका छन् ।