बैंक तथा वित्तीय संस्थाले चारओटा शाखा बन्द गरेपछि ग्रामीण क्षेत्रको वडामा एउटा नयाँ शाखा खोल्नुपर्ने


काठमाडाैँ । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गरी शाखा समायोजन तथा कार्यालय स्थानान्तरणसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ।

बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको परिपत्रमार्फत यो संशोधन लागू गरिएको हो।

संशोधित व्यवस्था अनुसार विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाले आफैँ निर्णय गरी महानगरपालिकाभित्र रहेका शाखा समायोजन वा एकीकरण गर्न सक्नेछन्।

उपमहानगरपालिका तथा नगरपालिकाभित्रका शाखा पनि विभिन्न सर्तको पालना गरेर समायोजन वा एकीकरण गर्न पाइनेछ। शहरी तथा शहरोन्मुख क्षेत्रका शाखा समायोजन गर्न सकिने र एक किलोमिटरको दूरीभित्र सञ्चालनमा रहेका शाखाहरूमध्ये कम्तीमा एउटा शाखा कायम राखेर सोही दूरीभित्रका अन्य शाखा मात्र समायोजन गर्न सकिने व्यवस्था गरिएको छ।

यसरी प्रत्येक चारओटा शाखा बन्द गरेपछि कुनै पनि बैंक तथा वित्तीय संस्थाको शाखा नभएको ग्रामीण क्षेत्रको वडामा एउटा नयाँ शाखा खोल्नुपर्नेछ। सो को विवरण नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेस गर्नुपर्नेछ। गाउँपालिका तथा ग्रामीण क्षेत्रमा रहेका शाखा वा कुनै पनि कार्यालय बैंकको पूर्वस्वीकृति बिना बन्द गर्न, स्थानान्तरण गर्न वा गाभ्न पाइने छैन।

शाखाको वर्गीकरणका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको नेपालको ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनको अनुसूची–३ मा उल्लेख भएका शहरी, शहरोन्मुख र ग्रामीण क्षेत्रलाई आधार मानिनेछ।

शाखा समायोजन गर्दा सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना भएको शाखाको हकमा सम्बन्धित संस्थाको लिखित सहमतिपछि मात्र समायोजन गर्न सकिनेछ।

सरोकारवालाको जानकारीका लागि कम्तीमा ९० दिनको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिका, संस्थाको वेबसाइट र सम्बन्धित शाखाको सूचनापाटीमा प्रकाशन गर्नुपर्नेछ। समायोजन हुने शाखाका ग्राहकले कर्जा चुक्ता गर्न वा सेवा बन्द गर्न चाहेमा कुनै शुल्क नलिई चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ।

शाखा समायोजन वा एकीकरण हुने कारण सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउन पाइने छैन। यसरी समायोजन गरेपछि कर्मचारीलाई नजिकको शाखा वा प्राथमिकता र सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्नेछ। साथै, शाखा समायोजन गर्दा सो क्षेत्रको वित्तीय पहुँचमा प्रतिकूल असर नपर्ने सुनिश्चित गर्ने व्यवस्था पनि मिलाउनुपर्नेछ।

समायोजन गरेको तीन कार्यदिनभित्र संस्थाले बैंकको रिर्पाेटिङ पाेर्टलमा विवरण अद्यावधिक गर्नुपर्नेछ।

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको सोही वडाभित्र तथा गाउँपालिकाको हकमा सोही गाउँपालिकाभित्र शाखा कार्यालय स्थानान्तरण गर्नुपरेमा सञ्चालक समितिको निर्णयअनुसार स्थानान्तरण गरी सात दिनभित्र राष्ट्र बैंकलाई जानकारी दिनुपर्नेछ। केन्द्रीय वा रजिस्टर्ड कार्यालय (कर्पोरेट कार्यालय) को ठेगाना परिवर्तन वा स्थानान्तरण गर्न चाहेमा राष्ट्र बैंकको स्वीकृति लिई प्रचलित कानुनको अधीनमा रही प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी गर्न सकिनेछ।