काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले सेयर बिक्री गर्दा पूर्वसूचना दिनुपर्ने सीमा १५ प्रतिशत पुर्याएको छ ।
५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्दा १५ दिनअघि नै सूचना दिनुपर्ने यसअघिको व्यवस्थालाई परिवर्तन गर्दै अब १५ प्रतिशत वा सोभन्दा बढीसेयर बिक्री गर्दा मात्रै पूर्वसूचना दिनुपर्ने व्यवस्थासहित निर्देशन संसोधन गरेको हो । यसअघि लागू गरिएको व्यवस्थाको विरोध भएपछि बोर्डले सेयर बिक्रीको सीमा र पूर्वसूचना दिनुपर्ने समय दुवैमा परिवर्तन गरेको छ ।
नयाँ व्यवस्थाअनुसार लकइन अवधि समाप्त भएपछि आधारभूत सेयरधनीले आफ्नो १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा कम्तीमा ५ कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ । यसअघि ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्दा १५ दिनअघि सूचना दिनुपर्नेव्यवस्था रहेको थियो ।
नयाँ व्यवस्थाले ५ प्रतिशतभन्दा बढी तर १५ प्रतिशतभन्दा कम सेयर स्वामित्व भएका सेयरधनीलाई सेयर बिक्री गर्नुअघि पूर्वसूचना दिनुपर्नेबाध्यता हटेको छ ।
आधारभूत सेयरधनीबाट सेयर बिक्रीको सूचना प्राप्त भएपछि सम्बन्धित कम्पनीले यथाशीघ्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सार्वजनिकगर्नुपर्ने व्यवस्था गरिएको छ । सेयर बिक्रीका लागि जारी गरिएको सूचनाको वैधता अवधि तीन महिना हुनेछ ।
सेयर बिक्रीको सूचना दिए पनि बिक्री नगरेका वा पूर्ण रूपमा बिक्री नगरेका आधारभूत सेयरधनीले पुनः सोही कम्पनीको सेयर खरिद गरेमा कारोबार सम्पन्न भएपछि खरिदको मूल्य र परिमाणसहितको विवरण सम्बन्धित कम्पनीलाई उपलब्ध गराउनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्