गोरखा । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले गोरखामा ठूलो क्षति पुर्याएको छ। बाढीमा परी कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् भने दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ। बाढीले चुमनुब्री गाउँपालिका–३ का पैयुँ र बगरमा रहेका करिब ३५ घरसमेत बगाएको छ।
बाढीले बस्ती, सडक सम्पर्क र आवागमनका संरचनामा क्षति पुर्याउँदा जिल्लाका विभिन्न क्षेत्र प्रभावित भएका छन्। गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले छवटा पुल बगाएको हो।
बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ। यसैगरी, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बाढीले बगाएको छ।
त्यस्तै, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्याएको छ।
पैयुँ र बगरका ३५ घर बगाए
बूढीगण्डकीको बाढीले चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगरका करिब ३५ घर बगाएको छ। बाढीले जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा समेत क्षति पुर्याएको छ।
बस्तीमा पसेको बाढीले घर तथा भौतिक संरचनामा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको अवस्था गम्भीर बनेको छ। बाढीमा परी कम्तीमा १० जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
पुल बगाउँदा आवागमनमा चुनौती
बाढीले मोटरेबल पुल, बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि प्रभावित क्षेत्रको यातायात तथा आवागमनमा थप कठिनाइ उत्पन्न भएको छ। नदी आसपासका बस्तीमा भएको क्षतिसँगै विभिन्न स्थान जोड्ने पुलसमेत बगेकाले प्रभावित क्षेत्रमा पुग्न र उद्धार तथा राहतका काम अघि बढाउन चुनौती हुन सक्ने देखिएको छ।
बूढीगण्डकी नदीमा आएको बाढीबाट मानवीय तथा भौतिक क्षतिको विवरण थप स्पष्ट हुन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्