काठमाडाैँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले निजी विद्यालयलाई ट्रस्टमा नभई कम्पनीका रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।
आइतबार ललितपुरमा आयोजित ‘शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाको सवाल’ विषयक वृहत शैक्षिक बहस कार्यक्रममा उनले निजी विद्यालय सेवामुलक, लोककल्याणकारी र गैरनाफामुलक बनाएर जाने कुरामा असहमति जनाए ।
उनले शिक्षा ऐन बनाउँदा निजी विद्यालयको लगानी सुरक्षा र दीर्घकालीन सञ्चालन सुनिश्चित हुने गरी बनाउनुपर्ने समेत बताए । संस्थागत विद्यालयको संस्थापकको मृत्यु हुने बित्तकै वा अन्य कारणले विद्यालय बन्द हुने अवस्थाको अन्त्य गर्न कानूनी व्यवस्था आवश्यक रहेको पनि उनकाे भनाइ छ ।
अध्यक्ष अधिकारीले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई श्रम ऐनअनुसार पारिश्रमिक दिन समेत निजी विद्यालयहरु तयार रहेको बताए ।
उनले शिक्षा ऐनमा संस्थागत विद्यालयको लगानीको सुरक्षाको सुनिश्चितता भए कर्मचारीलाई सामाजिक सुरक्षा कोष (एसएसएफ)मा आवद्ध गराउने र पारिश्रमिक बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्न समेत आफूहरु प्रतिबद्ध रहेको उल्लेख गरे ।
निजी विद्यालयमा अध्यनरत १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिन नसकिने समेत उनले स्पष्ट पारे । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सरकारी विद्यालयमा निःशुल्क वा सहुलियतमा अध्ययनको व्यवस्था गर्नुपर्ने र शुल्क तिर्न सक्ने विद्यार्थीलाई निजी विद्यालयले गुणस्तरीय शिक्षा उपलब्ध गराउने उनको भनाइ छ ।
सरकारले उपलब्ध गराउने सुविधाकोअनुसार मासिक तथा वार्शिक शुल्क घटाउन समेत आफूहरु तयार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्