काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले निजी क्षेत्रसंगको सहकार्यमा सरकारले सीपयुक्त जनशक्ति उत्पादन गर्ने बताएका छन् ।
आइतबार भक्तपुरमा एभरेष्ट मल्टिस्किल प्रा.लि.ले सञ्चालन गरेको सीपमुलक तालिम केन्द्रको उद्घाटन गर्दै उनले बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गरि रोजगारीसँग जोड्ने बताएका हुन् ।
सीपयुक्त जनशक्ति नहुँदा हाल युवाले रोजगारी र रोजगारदाताले दक्ष जनशक्ति पाउन नसकेको उनले बताए । उनले उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गरे ।
तालिम केन्द्रहरुमार्फत युवाहरुलाई सीप सिकाएर बजारको मागअनुसार रोजगारीसँग जोड्नुपर्नेमा जोड दिए । सीप विकासलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
उनले रोजगारदाता तथा उद्योगी व्यवसायीलाई प्रशिक्षार्थीलाई व्यावहारिक अनुभव प्रदान गर्न र सीपयुक्त युवालाई रोजगारीमा जोड्न आग्रह गरे । तालिम केन्द्रको सफलता तालिम लिने व्यक्तिको संख्यामा मात्र सिमित नराखी तालिमपछि रोजगारी प्राप्त गर्ने, उद्यम सुरु गर्ने र आयआर्जनमा सुधार ल्याउने व्यक्तिको संख्याको आधारमा मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ ।
उनले मन्त्रालयले सीपयुुक्त जनशक्ति निर्माण गरी स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नेतर्फ काम गरिरहेको बताए। साथै मन्त्रालयले वैदेशिक रोजगारीमा जाने युवालाई पनि दक्ष, सुरक्षित तथा मर्यादित श्रमिकका रूपमा पठाउने उल्लेख गरे ।
उनले हालै शुभारम्भ गरिएको प्रशिक्षण केन्द्रले गुणस्तरीय तालिममार्फत दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना र स्थानीय आर्थिक विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
साथै, युवालाई तालिममा सहभागी हुन र सीप विकासका अवसरको उपयोग गर्न प्रोत्साहित गर्न उनले सबै पक्षलाई आग्रह गरे । सीपयुक्त युवा, सम्मानित श्रम, सिर्जनशील उद्यम र समृद्ध नेपाल निर्माण साझा सङ्कल्प हुनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्