काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको सङ्ख्या बढेको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उनका अनुसार नागढुङ्गा नाकाबाट सबैभन्दा बढी २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ यात्रु बाहिरिएका छन् । त्यस्तै, फर्पिङबाट ५ हजार ५१०, तीनपिप्लेबाट ९७२, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुङ्गाबाट ५१३ र थानकोटबाट ५६ यात्रु बाहिरिएका छन् ।
यात्रुको चाप बढेसँगै सवारीसाधन व्यवस्थापनमा चुनौती थपिएको यातायात व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार पृथ्वी राजमार्गको धादिङस्थित गलौँदीमा सडक भासिएर आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएका थिए । यसले यात्रु ओसारपसार र सवारी व्यवस्थापनमा समस्या पारेको उनले बताए ।
महासंघले यात्रुलाई टिकट लिएर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्