विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ


काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनको लागि वैज्ञानिक तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । 

मंगलबार ‘विपद् उत्थानशीलताको शुरुवात घरबाटै’ अभियनको शुरुवात गर्दै उनले यस्तो बताएका हुन् । उनले वैज्ञानिक तथ्य, तथ्याङ्क र अनुसन्धानलाई आधार बनाएर विपद्सम्बन्धी नीति निर्माण बनाउन आवश्यक रहेको बताए ।

विपद्का व्यक्ति विशेषको सक्रियता नभई प्रणाली स्वतः सक्रिय हुने संयन्त्र विकास गर्नुपर्ने उनको भनाइ छ । विपद् व्यवस्थापनका संयन्त्रलाई आवश्यकताअनुसार स्वतः परिचालित हुने गरी तयार गर्न सकेमा मात्रै भविष्यका चुनौती सामना गर्न सहज हुने उनले बताए ।

विपद्का बदलिँदा स्वरूप र जोखिमका सङ्केतलाई ध्यानमा राखेर आगामी दिनमा पनि पूर्वतयारीलाई पनि निरन्तरता दिनुपर्ने उनको भनाइ छ । उनले विपद् आउनुअघिको अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

सरकारले भिजुअलमा आधारित अनुगमन प्रणाली विकास गरेपनि पर्याप्त नभएको उनको भनाइ छ । उपलब्ध तथ्याङ्कको आदानप्रदान र कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट विपद्का सम्भावित जोखिम तथा घटनाका ढाँचा पहिचान गर्न सकिने उनको भनाइ छ ।

नेपालमा विपद्का प्रकृति फरक–फरक रहेकाले त्यसअनुसार तयारी गर्नुपर्नेमा उनले जोड दिए । पछिल्लो समय नेपालमा देखिएका बाढीको प्रकृति परिवर्तनप्रति पनि शतर्क रहनुपर्ने उनले बताए ।

माथिल्लो तटीय क्षेत्रमा पानी थुनिने वा अन्य कारणले बहावमा परिवर्तन आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा जोखिमको पूर्वानुमान र निगरानीलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले विपद्पछिको उद्धार र राहतसँगै पूर्वतयारी, प्रभावकारी अनुगमन, आवश्यक उपकरणको व्यवस्थापन तथा विपद्पछिको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

विपद्पछिको अवस्थाले धेरै परिवारमा मानसिक आघात पर्ने गरेको उनको भनाइ छ । बालबालिकामा डर र त्रास देखिने तथा प्रभावित व्यक्तिहरूमा पोस्ट ट्रमासम्बन्धी समस्या देखिन सक्ने भएकाले मानसिक स्वास्थ्यलाई समेटेर समग्र कार्यढाँचा बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले आगामी दिनमा भौतिक पूर्वाधार निर्माण गर्दा वैज्ञानिक तथ्य तथा परम्परागत रैथाने ज्ञानलाई समेत मिश्रण गरेर बनाउनुपर्ने बताए ।