काठमाडाैँ । काठमाडौँका सडकमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र सडक आवागमनलाई सुरक्षित बनाउने उद्देश्यले सडक डिभिजन काठमाडौंले रोड मार्किङ तथा ट्राफिक संकेत निर्माणको काम तीव्र पारेको छ ।
दिउँसो सवारीसाधनको चाप बढी हुने भएकाले सडकमा थर्मोप्लास्टिक पेन्टिङसहितका सडक चिह्न निर्माणको काम रातिको समयमा भइरहेको हो । सडक डिभिजन काठमाडौँकी इन्जिनियर श्रीयंका रौनियारकाअनुसार सडक डिभिजन काठमाडौंअन्तर्गतका सडकमा राति ९ बजेदेखि बिहान ५–६ बजेसम्म रोड मार्किङको काम भइरहेको छ ।
कामका लागि राति ८ बजेदेखि नै आवश्यक तयारी शुरु गरिने गरिएको छ र हाल सिंहदरबार आसपासका क्षेत्रमा सडक चिह्न निर्माण भइरहेको जानकारी दिइन् ।
उनकाअनुसार कालिमाटी क्षेत्रमा पनि जेब्रा क्रसिङ बनाउने काम जारी छ । साथै, करिब ६ किलोमिटर सडकमा एज लाइन बनाउने काम पनि हाल सम्पन्न भइसकेको छ ।
सडकको प्रकृति र सुरक्षालाई ध्यानमा राख्दै एज लाइनमा पहेँलो रङ तथा सेन्टर लाइन र जेब्रा क्रसिङमा सेतो रङको थर्मोप्लास्टिक पेन्ट प्रयोग भइरहेको उनले जानकारी दिइन् । स्पष्ट सडक चिह्नले चालकलाई लेन पहिचान गर्न तथा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न सहयोग पुग्ने रौनियारले बताइन् ।
उनकाअनुसार सडक डिभिजन काठमाडौंले मुख्य सडकमा दसैँअघि नै रोड मार्किङको काम सक्ने र त्यसपछि अन्य सडकमा समेत कामलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।
काठमाडौँका सडकमा ट्राफिक संकेत, सडक मार्किङ तथा अन्य सडक सुरक्षा पूर्वाधार निर्माणका लागि सडक डिभिजन काठमाडौँले के.ए.एम.÷रुवी÷अयान जेभीसँग ठेक्का सम्झौता गरिसकिएको छ । सम्झौताअनुसार उक्त आयोजनाका लागि भ्याटसहित ७ करोड १५ लाख ५३ हजार २८३ रुपैयाँको बोलपत्र स्वीकृत भएको छ ।
सम्झौताअनुसार २०८३ असार २६ गतेदेखि शुरु भएको आयोजनाको काम २०८३ चैत २५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ । सडकमा आवश्यक ट्राफिक संकेत, लेन चिह्न, जेब्रा क्रसिङ तथा अन्य सडक सुरक्षा संरचना निर्माण भएपछि सवारीसाधन र पैदलयात्रीको आवागमन थप व्यवस्थित हुने रौनियारले बताइन् ।


प्रतिक्रिया दिनुहोस्