तिवारीको नेतृत्वमा नेपाल मत्स्य समाजको नयाँ कार्यसमिति


काठमाडौं। नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

मंसिर ११ गते काठमाडौंको सिद्धार्थ कटेज, धोबीघाटमा सम्पन्न अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा डा. सन्तोषी श्रेष्ठ, महासचिवमा राहुल रञ्जन, सचिवमा उमिता साह र कोषाध्यक्षमा यज्ञप्रसाद गौतम चयन भएका छन्।

त्यस्तै सदस्यमा डा. कुमार खत्री, डा. अरुणप्रसाद वैद्य, निता पराजुली कार्की, सुनिता चन्द, डा. विनिता तामाङ र रविन्द्र कठायत चयन भएका छन्।

नेपाल मत्स्य समाजकी अध्यक्ष डा. सुनिला राईको अध्यक्षता तथा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो। कार्यक्रममा मत्स्यपालन क्षेत्रसँग सम्बन्धित ६० भन्दा बढी विज्ञ, प्राध्यापक तथा प्रसार र अनुसन्धानमा संलग्न सरोकारवालाको सहभागिता थियो।

कार्यक्रममा मन्त्री चौधरीले कृषकको जीविकोपार्जन र आयआर्जनसँगै मानव स्वास्थ्यसँग समेत प्रत्यक्ष जोडिएको मत्स्यपालन व्यवसाय सरकारको प्राथमिकतामा रहेको बताइन्। मत्स्यपालन क्षेत्रमा देखिएका चुनौती र समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. श्यामनारायण लाभ र पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालको समेत उपस्थिति थियो।

साधारण सभाको बन्द सत्रमा समाजको वार्षिक प्रगति विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। सोही सत्रबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।