साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवद्र्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानी र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन् ।

ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई धितोको विकल्पमा नगद प्रवाह र बिलका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । उनले कर्जा सुरक्षण कोष विस्तार, बाढी तथा विपद्बाट प्रभावित व्यवसायीलाई पुनःस्थापना कर्जा र बीमा दाबी प्रक्रिया सरल बनाउन पनि जोड दिए ।

सरकारी निकाय तथा ठूला खरिदकर्ताले साना आपूर्तिकर्तालाई तोकिएको समयमै भुक्तानी गर्ने व्यवस्था अनिवार्य गर्नुपर्ने उनको भनाइ छ । उद्योग दर्ता, नवीकरण, कर तथा लेखासम्बन्धी काम एकद्वार डिजिटल प्रणालीबाट सञ्चालन गरी अनौपचारिक उद्यमलाई औपचारिक अर्थतन्त्रमा जोड्नुपर्ने उनले बताए ।

श्रेष्ठले सार्वजनिक खरिदमा स्वदेशी साना तथा मझौला उद्यमलाई प्राथमिकता दिन, उनीहरूलाई ठूला उद्योगको आपूर्ति शृङ्खलासँग जोड्न तथा भन्सार र व्यापार सहजीकरण प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । अनावश्यक प्रशासनिक प्रक्रिया हटाउनुपर्ने भए पनि कानुनी सुरक्षा कमजोर पार्न नहुने उनको भनाइ छ ।

महासंघले भ्रष्टाचारविरुद्धको सरकारी अभियानलाई समर्थन गर्ने उल्लेख गर्दै श्रेष्ठले व्यवसायीलाई प्रमाणको मूल्यांकन नगरी दोषी ठहर गर्न नहुने बताए । वास्तविक व्यावसायिक विवाद र प्रक्रियागत त्रुटिलाई जानीजानी गरिने ठगी तथा भ्रष्टाचारबाट छुट्याएर अनुसन्धान र कानुनी कारबाही निष्पक्ष रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

राज्य र निजी क्षेत्रबीच आपसी विश्वास, पारदर्शिता, उत्तरदायित्व र साझा जिम्मेवारीमा आधारित सहकार्य आवश्यक रहेको पनि अध्यक्ष श्रेष्ठले बताए ।