काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको शेयर बजार सूचक नेप्से घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ भदौ मसान्तमा २ हजार ६७२.२५ बिन्दुमा रहेको नेप्से सूचक २०८३ भदौ मसान्तमा घटेर २ हजार ६१२.४३ बिन्दुमा कायम भएको हो ।
नेप्से सूचक घटे पनि शेयर बजारको कुल पुँजीकरण भने सामान्य वृद्धि भएको छ । २०८३ भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ९६ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो पुँजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ थियो ।
यद्यपि, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा बजार पुँजीकरणको अनुपात घटेको छ । २०८२ भदौ मसान्तमा जीडीपीको ७२।०५ प्रतिशत रहेको यस्तो अनुपात २०८३ भदौ मसान्तमा ६८.१३ प्रतिशतमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीको सङ्ख्या भने बढेको छ । २०८३ भदौ मसान्तसम्म सूचीकृत कम्पनीको सङ्ख्या ३०५ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा २७६ कम्पनी सूचीकृत थिए ।
सूचीकृत कम्पनीमध्ये १३३ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् । त्यस्तै, १११ जलविद्युत् कम्पनी, ३१ उत्पादन तथा प्रशोधन उद्योग, नौ होटल, सात लगानी कम्पनी, चार व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन् ।
बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा बढी ५१.४ प्रतिशत छ । जलविद्युत् कम्पनीको हिस्सा १७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.७ प्रतिशत र लगानी कम्पनीको ६.९ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा १२ अर्ब तीन करोड रुपैयाँ बराबरका थप धितोपत्र नेप्सेमा सूचीकृत भएका छन् । यसमध्ये नौ अर्ब ४५ करोड रुपैयाँको साधारण शेयर, एक अर्ब ५३ करोड रुपैयाँको बोनस शेयर, २३ करोड रुपैयाँको हकप्रद शेयर र ८२ करोड रुपैयाँ बराबरका अन्य धितोपत्र रहेका छन् ।
यसैगरी, नेपाल धितोपत्र बोर्डले समीक्षा अवधिमा तीन अर्ब ८७ करोड रुपैयाँ बराबरका धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । अनुमति पाउनेमा दुई अर्ब आठ करोड रुपैयाँको म्युचुअल फन्ड, एक अर्ब २० करोड रुपैयाँको डिबेन्चर र ५९ करोड रुपैयाँको साधारण शेयर रहेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कले शेयर बजार सूचकमा गिरावट आए पनि बजार पुँजीकरण र सूचीकृत कम्पनीको सङ्ख्यामा भने वृद्धि भएको देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्