काठमाडाैँ । दसैँको लामो सार्वजनिक बिदा सकिएसँगै काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन बिस्तारै पुरानै लयमा फर्किएको छ । प्रशासनिक केन्द्र सिंहदरबारलगायत सरकारी कार्यालयहरू आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन् ।
दसैँका अवसरमा सरकारले दिएको लामो बिदापछि आज पहिलो दिन कार्यालय खुले पनि सेवाग्राही र कर्मचारीको उपस्थिति भने अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन ।
बिहान नौ बजेदेखि नै सरकारी कार्यालय खुल्ने नियम भएपनि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र विभागहरूमा कर्मचारीको उपस्थिति पातलो देखिएको छ ।
राजधानीका मुख्य सडकहरूमा सवारी साधनको चाप बिस्तारै बढ्न थालेको छ भने उपत्यका बाहिर गएका सर्वसाधारणको फिर्ती यात्रा जारी छ । कार्यालय खुलेको पहिलो दिन भएकाले कर्मचारीहरू अझै दशैँको थकान र पारिवारिक जमघटबाट पूर्ण रूपमा कार्यक्षेत्रमा फर्किने क्रममा रहेका छन् । जसका कारण कार्यालयहरूमा कामको गति शुरुवाती दिनमा सुस्त देखिएको छ ।
यद्यपि, केही दिनभित्रै कर्मचारीहरूको पूर्ण उपस्थिति हुने र प्रशासनिक कामकारबाहीले नियमित गति लिने सरकारी अधिकारीहरूले जनाएका छन् ।
लामो बिदाका कारण रोकिएका महत्वपूर्ण प्रशासनिक कामहरू अबको केही दिनमा तिब्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ । अहिले कार्यालयहरूमा कर्मचारीको संख्या कम देखिए पनि सेवाग्राहीहरूको उपस्थिति भने फाटफुट मात्रै रहेको छ ।


प्रतिक्रिया दिनुहोस्