नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा


काठमाडाैँ । नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम शुरु भएको छ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम शुरु गरिएको हो । कार्यक्रमको भारतको ट्राभल ट्रेड वेलफेयर एशोसिएशनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा भारतका विभिन्न शहरबाट २३ भन्दा बढी पर्यटन तथा ट्राभल व्यवसायी सहभागी छन् । उनीहरूलाई रुपन्देहीको बेलहिया नाकामा विशेष कार्यक्रमसहित स्वागत गरिएको थियो ।

व्यवसायीलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराउने र सुनौली हुँदै लुम्बिनी क्षेत्र, रामग्राम स्तूप, अमलटारी र चितवनको सौराहालगायतका गन्तव्यमा भ्रमण गराउने कार्यक्रम छ ।

आयोजक संस्था गैरआवासीय नेपाली संघका प्रवक्ता सोमनाथ सापकोटाले नेपालको पर्यटन क्षेत्रबारे फैलिएको नकारात्मक सन्देश चिर्न यो कार्यक्रम आयोजना गरिएको बताए ।

भोटेकोशी विपद्पछि नेपाल असुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रियस्तरमा फैलिँदा विदेशी पर्यटकको आगमन प्रभावित भएको उनको भनाइ छ ।

नेपालका केही क्षेत्रमा मात्रै बाढीपहिरोका कारण क्षति पुगेको भएपनि समग्र देश नै प्रभावित भएको सन्देश फैलिएपनि त्यसलाई चिर्न पर्यटन प्रवद्र्धनको कार्यक्रम संचालन गरिएको उनले बताए ।

उनकाअनुसार केही ट्रेकिङ मार्गबाहेक अधिकांश पर्यटकीय गन्तव्य सञ्चालनमा रहेको छ । नेपाल भ्रमणका लागि उपयुक्त रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पु¥याउन कार्यक्रमले सहयोग गर्नेछ ।

कार्यक्रममा विशेषगरी बुद्ध सर्किट, थारू संस्कृति, जंगल सफारी तथा अमलटारी क्षेत्रका पर्यटकीय सुविधा र होटललाई प्रवद्र्धन गरिने उनले जानकारी दिए ।

कार्यक्रममा भारतीय पर्यटकलाई लुम्बिनी तथा चितवनबाट पोखरा र काठमाडौंसम्म सहज रूपमा जोड्ने सम्भावनाबारे पनि पर्यटन व्यवसायीबीच छलफल गरिनेछ ।

सापकोटाकाअनुसार गत वर्ष करिब तीन लाख भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । भारतबाट ठूलो संख्यामा पर्यटक तेस्रो मुलुक भ्रमणमा जाने भएपनि नेपालले त्यसको सम्भावनाअनुसार पर्यटक आकर्षित गर्न नसकेको उनको भनाइ छ ।

कार्यक्रममार्फत लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै नेपाल र भारतका पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ ।

नेपाललाई सुरक्षित र स्वागतका लागि तयार गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कार्यक्रमले सहयोग पु¥याउने आयोजकको अपेक्षा छ । कार्यक्रमका लागी नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन नेपाल (हान) र पाटालगायतका संस्थाले सहयोग गरेका छन् ।