काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न आगामी मंसिरमा एकमहिने संवाद अभियान सञ्चालन गर्ने बताएका छन् ।
पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले वर्षौँदेखि काँग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदातासँग संवाद गर्नुपर्ने बताएका हुन् ।
मतदाताले काँग्रेसलाई मत नदिनुको कारण खोज्नुपर्ने उल्लेख गर्दै उनले उनीहरूको घरमै पुगेर गुनासा सुन्न र प्रश्नको जवाफ दिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
उनले काँग्रेसको १५ औँ महाधिवेशनपछि पार्टी नयाँ सोच र सङ्कल्पसहित अघि बढेको उल्लेख गर्दै विगतमा पार्टीबाट टाढिएका मतदाताका गुनासा सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गरे ।
काँग्रेसले विगतमा गरेका कामको चर्चा मात्र नगरी वर्तमानका समस्या समाधान गर्ने प्रतिबद्धतासहित जनतामाझ जानुपर्ने उनको भनाइ छ ।
थापाले पार्टीभित्र नयाँ र पुराना पुस्ताबीच समन्वय आवश्यक रहेको पनि बताए । नयाँ पुस्तासँग नयाँ सोच र ज्ञान रहेको तथा पुराना पुस्तासँग अनुभव रहेको उल्लेख गर्दै उहाँले दुवै पुस्तालाई सँगै लिएर जानुपर्नेमा जोड दिए ।
पार्टीका सबै संगठनात्मक संरचनामा चार पुस्ताको उपयुक्त प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । आगामी स्थानीय तह निर्वाचनमा पनि पुराना र नयाँ नेताकार्यकर्तालाई समेट्दै महिलालाई पर्याप्त जिम्मेवारी दिनुपर्ने तथा सबै जातजाति, भाषाभाषी र समुदायको प्रतिनिधित्वमा ध्यान दिनुपर्ने सभापति थापाले बताए ।
स्थानीय तहका उम्मेदवार छनोटमा पनि तल्लो तहका पार्टी सदस्यलाई निर्णायक भुमिका दिनुपर्ने थापाले उल्लेख गरे । पार्टीको विधानअनुसार पोखरा महानगरपालिकाको उम्मेदवार पोखराकै पार्टी सदस्यले र स्याङ्जा तथा तनहुँका उम्मेदवार सम्बन्धित जिल्लाकै पार्टी सदस्यले छनोट गर्ने उनले बताए ।
पार्टीका नेता तथा सम्भावित उम्मेदवारहरू केन्द्रमा सिमित नभई गाउँ, वडा र टोलसम्म पुग्नुपर्नेमा जोड दिँदै थापाले काँग्रेसको काम गर्ने शैली र नेताहरूको व्यवहार परिवर्तन गर्नुपर्ने उल्लेख गरे ।
नेताहरू विमानस्थलमा आउँदा लामो तामझामसहित स्वागत गर्ने, माला र खादा लिएर लामवद्ध हुने तथा सर्वसाधारणबाट टाढा रहने प्रवृत्तिले जनतामा नकारात्मक सन्देश जाने उनको भनाइ छ ।
नेताहरू सर्वसाधारणसँग सहजै भेटिने, उनीहरूका कुरा सुन्ने र जनताकै बिचमा रहेर काम गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । आफूले पार्टी सभापतिको जिम्मेवारीलाई नयाँ अध्यायका रूपमा लिएको उल्लेख गर्दै उनले आगामी चार वर्ष पार्टीलाई व्यवस्थित र जनतासँग जोडेर अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
नेपाली काँग्रेसलाई सम्हाल्नु पार्टीको संगठन व्यवस्थापनमा मात्र सिमित नभई नेपालको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने जिम्मेवारीसमेत भएको उनको भनाइ छ । यसका लागि पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको निरन्तर साथ र सहयोग आवश्यक रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्